• २७ वैशाख २०८१, बिहिबार

स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामाग्री सहयोग

blog

औषधि तथा अन्य सामाग्री प्रदान गरिँदै । तस्बिर : राजन रावत ।

राजन रावत

हुम्ला, जेठ ३२ गते । काठमाडौंको नेपाल हेल्थ ट्रष्टले हुम्लाको एक स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामाग्री सहयोग गरेको छ । स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको ट्रष्टका कर्मचारी जिल्लामा आएकोबेला स्वास्थ्य चौकीले आवश्यक पर्ने औषधि र सामाग्री माग गरेका थिए । 

सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले ट्रष्टबाट औषधि र सर्जिकल सामाग्री सहयोग प्राप्त भएको बताउनुभयो । सहयोग सामाग्री र औषधि ट्रष्टले सिमकोटसम्म खरिद गरेर हवाई मार्गबाट ढुवानी गरेर गाउँपालिकामा पठाएको थियो । 

सहयोग प्राप्त भएका औषधिहरू ४५ प्रकारका रहेका छन् भने छ प्रकारका सुई र सर्जिकल सामाग्री २१ प्रकारका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि सामाग्री एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष देवजन बोहरालाई हस्तान्तरण गरिएको छ । 

यस्तै, औषधिहरू ठेहे स्वास्थ्य चौकीमा लगिएको छ । स्वास्थ्य चौकीसम्मको ढुवानी भने गाउँपालिकाले गरेको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले ट्रष्टबाट स्वास्थ्य चौकीका लागि उपलब्ध भएको औषधिहरू एकदमै महत्त्वपूर्ण र आवश्यक रहेको बताउनुभयो । यसबाट स्वास्थ्य चौकीलाई औषधिको अभाव समाधान हुनेछ भने बिरामीलाई उपचार गर्न सहज हुनेछ। 

यसअघि जिल्ला अस्पताललाई पनि ट्रष्टले औषधि तथा सामाग्री सहयोग गरेको थियो । ट्रष्टका व्यवस्थापक रमेश श्रेष्ठले औषधि तथा सामाग्रीको खरिद तथा ढुवानी लागत दुई लाख भन्दा बढी परेको बताउनुभयो ।