मुगु समाचारदाता
मुगु, मङ्सिर २९ गते । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो मुगुमा पछिल्लो एक हप्तादेखि ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै उपल्लो क्षेत्रका छ वडाका सर्वसाधारण धमाधम सदरमुकाम गमगढी र छिमेकी जिल्ला जुम्लाको बेँसी झर्न थालेका छन् ।
हिउँदे अन्नबाली थन्काएर माथिल्लो मुगु, डोल्पुगाउँ, चिताई, सेरोक, करान, कार्तिक, किम्री, ताखा रिउस गाउँका १६ देखि ४० वर्ष उमेर समूहका सर्वसाधारण बेँसी झर्न थालेका हुन् । मुगुमकार्मारोङ गाउँपालिका–४ का स्थानीय पाल्जुर लामाका अनुसार यहाँका स्थानीय गत कात्तिक दोस्रो हप्तादेखि मङ्सिर अन्तिम सातासम्म जिल्ला सदरमुकाम गमगढी, सोरु गाउँपालिका र छिमेकी जिल्ला जुम्लासम्म पुगेर घुम्ती व्यापार गरेर परिवारलाई पाल्दै आएका छन् ।
गाउँमा करिब चार महिना वस्तुभाउको हेरचाह गर्न प्रत्येकका घरमा एक/दुई जना वृद्धवृद्धा मात्रै रहन्छन् । गाउँमा हिउँदको समयमा चिसो बढ्ने भएपछि विद्यालयमा पढाइ नभएको हुँदा अभिभावकसँगै विद्यार्थी पनि बेँसी झर्ने गरेको लामाले बताउनुभयो । अन्नबाली थन्काएर सर्वसाधारण धमाधम बेँसी झर्न थालेको माथिल्लो मुगुका स्थानीय ज्याङमेछिरिङ लामाले जानकारी दिनुभयो । “हामीले तीन महिनासम्म घुम्ती व्यापार गर्छौं, केही रकम बचत गरेर किनमेल गरेर फर्कन्छौँ,” उहाँले भन्नुभयो, “चिसोले हाम्रो गाउँमा खासै अन्नबाली हुँदैन, व्यापारबाट आम्दानी गरेर त्यसैबाट जीविका चलाउने हो ।”
घुम्ती व्यापारमा यहाँका स्थानीयले माथिल्लो मुगुमा पाइने जिम्बु, चाैँरीगाईको पुच्छर र त्यसै गरी छिमेकी देश चीनबाट ल्याइएका विभिन्न किसिमका लत्ताकपडा, मालालगायतको व्यापार गर्ने गरेका छन् । चिसो बढेसँगै बिहानबेलुकी सदरमुकाम गमगढीलगायत आसपासका क्षेत्रमा आगो तापेर बस्ने समूहसमेत बढ्न थालेको छ ।