• २७ वैशाख २०८१, बिहिबार

‘प्रहरी आफैँमा समस्या बन्नु हुँदैन’

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ ३२ गते ।  कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले प्रहरी कर्मचारीहरू आफैँमा समस्या बन्न नहुने बताउनुभएको छ। प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन दिने क्रममा रुकुमपश्चिम आइपुग्नुभएका डिआइजी ढकालले राम्रो कामको फल राम्रै हुने भएकाले प्रहरीले असल नियतका साथ काम गर्न निर्देशन दिनुभयो। 

प्रहरी कर्मचारीको जिम्मेवारी अरूको भन्दा फरक र महत्त्वपूर्ण भएकाले स्वतन्त्र, इमानदार र व्यावसायिक हुनुपर्नेमा उहाँले जोड दिनुभयो। समाजमा गर्नै नहुने कुरा रोक्ने जिम्मेबारी पनि प्रहरीको भएकाले कानुनको कार्यान्वयनमा प्रतिबद्ध हुन उहाँले निर्देशन दिनुभयो। 

उहाँले सर्वसाधारण नागरिकको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। डिआइजी ढकालले प्रहरी कर्मचारीलाई सङ्लो मनका साथ काम गर्न र सचेत रहन निर्देशन गर्नुभयो।  उहाँले भन्नुभयो, “सङ्लो मन भएमा धमिलो परिणाम हुँदैन, सत्कर्म छोड्नु हुँदैन। प्रविधिले फड्को मारेको वर्तमान अवस्थामा प्रहरी चनाखो र सजक नहुँदा प्रहरी कर्मचारीले मात्र नभई सिङ्गो समाज र देशले दुःख पाउँछ।”

प्रहरी डिजिटल भिडको सिकार हुन नहुने भन्दै उहाँले आफ्नो जिम्मेबारीभन्दा अन्य कुरा (दाँयाबाँया) नसोच्न आग्रह गर्नुभयो। प्रहरीको योग्यता भनेकै पेसागत दक्षता भएकाले पेसागत आचरण र अनुशासनमा कोही कसैसँग सम्झौता गर्न नहुने डिआइजी ढकालले बताउनुभयो। 

प्रहरीका सिपाही र हबलदार फ्रन्ट लाइनमा काम गर्ने प्रहरी सङ्गठनको मेरुदण्ड भएकाले विभागीय नीति, निर्देशनको पूर्णपालना गर्नुपर्ने र दुइटा डुङ्गामा खुट्टा राख्न नहुने उहाँको भनाइ छ। 

अवैध अफिम खेती फँडानी

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले ठूलो मात्रामा लगाइएको अवैध अफिम खेती फँडानी गरेको छ। आर्थिक वर्ष २०७९/८० को साउन देखि २०८० को असार अन्तिमसम्म १०४.५६ रोपनी क्षेत्रफलमा लगाइएको अवैध अफिम नष्ट गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार विभिन्न समयमा जिल्लाको आठबिसकोट नगरपालिका–१ को उबाखोला, वडा नं.–२ को पहाडा र स्याला, वडा नं.–३ पाटागाउँ र कालोजुरा, वडा नं.–१३ को हाम्फा, सानोभेरी गाउँपालिका–७ को फुक्रु र मुसीकोट नगरपालिका–१० को ठुलो पोखरलगायतका क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ।

उहाँले अवैध अफिम फँडानीका लागि जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले अभियान नै सञ्चालन गरी नष्ट गरेको बताउनुभयो। अवैध अफिम खेती भइरहेको विशेष सूचनाको आधारमा प्रहरीको एक टोली खेती गरिएको स्थानमा पुगेर फँडानी गरेको हो। 

अवैध अफिम खेती गर्ने व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाइ छ। जिल्लामा प्रहरीले हरेक वर्ष अफिम खेती फँडानी अभियान सञ्चालन गर्ने गरेको छ तर अफिम खेती गर्ने व्यक्तिलाई भने कारबाही भएको पाइँदैन। खेती गर्ने व्यक्तिको पहिचान हुन नसक्दा कारबाही हुन नसकेको भनाइ प्रहरीको छ।