• २७ वैशाख २०८१, बिहिबार

निःशुल्क अल्ट्रासाउन्ड सेवा

blog

जाजरकोट समाचारदाता

जाजरकोट, जेठ ३२ गते ।  बारेकोट गाउँपालिकाले यस पालिकाभित्रका गर्भवती महिलालाई निःशुल्क रूपमा अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ। आर्थिक अभावका कारण अल्ट्रासाउन्ड सेवा नपाएका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेको हो। 

गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख रामबहादुर रोकायले महिलाको स्वास्थ्य तथा आर्थिक अवस्था हेरी निःशुल्क अल्ट्रासाउन्ड सेवा दिन थालेको बताउनुभयो। 

गाउँ गाउँमा स्वास्थ्य संस्था भए पनि लिम्सा स्थित १० शय्याको स्वास्थ्य संस्थामा मात्र अल्ट्रासाउन्ड सेवा रहेको छ। गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले गाउँपालिकाभित्र नै अल्ट्रासाउन्ड सेवा सुरु भएसँगै यहाँका महिलाले निःशुल्क सेवा लिन थालेको बताउनुभयो। 

यसअघि यहाँका गर्भवती महिला अल्ट्रासाउन्ड सेवा लिन सदरमुकाम जान बाध्य थिए। गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले गाउँपालिकाभित्रको आर्थिक अवस्था हेरेर सबै गर्भवतीलाई यो सेवा सुरु गरिएको बताउनुभयो। 

यसअघि यहाँका ९० प्रतिशत महिलाले अल्ट्रासाउन्ड सेवा लिन नपाएको उपाध्यक्ष गिरीको भनाइ छ। बारेकोट–३, मुल्सामका पुष्पा सिंहले पालिकाले गर्भवती महिलाका लागि अल्ट्रासाउन्ड सेवा दिएर प्रभावकारी कार्य गरेको बताउनुभयो। अल्ट्रासाउन्ड सेवाका कारण गर्भभित्र रहेको भ्रूणको अवस्थाका बारेमा जानकारी लिन सहयोग पुग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्।