• १३ असोज २०८१, आइतबार

साम्पाङलाई कलाकारको बधाई

blog

काठमाडौँ, जेठ ३२ गते । धरान नगरपालिकाका प्रमुख हर्क साम्पाङको चर्चा जताततै चलिरहेको छ । उहाँ अहिले चलचित्रको नायक झैँ बन्नुभएको छ । उहाँको कामको तारिफ गर्दै बधाई दिनेको ओइरो लागेको छ । यसैबिच कलाकारहरूले पनि साम्पाङलाई बधाई दिन पछि परेनन् । उनीहरूले सामाजिक सञ्जालमार्फत साम्पाङलाई बधाई दिइरहेका छन् ।  

चलचित्र लेखक यज्ञशले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अँध्यारोको एउटा जुनकिरी हर्क साम्पाङ । आफ्नो लक्ष्यप्रतिको निरन्तर लगन, जिद्दी र मेहनतले कसरी एउटा जनप्रतिनिधि ‘लिडर’ बन्छ भन्ने उदाहरण हर्कले स्थापित गरेका छन् । हर्कले धरानमा पानी ल्याए जस्तै एक एक वटा काम र सुधारको अभियान (रित्तो गफ मात्रै होइन) ७५३ वटै पालिका प्रमुखले थाल्ने हो भने कसो होला ?” 

अभिनेता दीपकराज गिरीले साम्पाङ पानीको धारामा रमाइरहेको फोटोमा प्रतिक्रिया दिनु भएको छ । उहाँको प्रतिक्रिया छ, “हो ! यस्ता फोटालेचाहिँ आनन्द दिन्छ ! ठूला राजनीतिक गफ होइन, विकास मात्रै लक्ष्य !” 

त्यसै गरी अभिनेतृ करिष्मा मानन्धर लेख्नुहुन्छ, “मेयर साहेब, धरानवासी जनतालाई ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउन सफल हुनु भो । यस्तै अनेकौँ सफलताको शुभकामना छ ।”