• १३ साउन २०८१, आइतबार

डिजाइनरलाई मनसुन फेसनको चटारो

blog

काठमाडौँ, जेठ ३२ गते । नेपालमा मनसुन भित्रन थालेको समाचारले किसानलाई त उत्साहित बनाएको छ नै फेसनको व्यापार व्यवसाय गर्दै आएका डिजाइनरहरूलाई पनि उत्तिकै चटारो थपिएको छ । मनसुन सुरु भएसँगै बाटाघाटामा पनि बढी हिलो र धुलोमैलो हुन्छ, हल्का चिसो बढेको महसुस हुन्छ । यस्तो बेला नियमित काममा जाँदा होस् वा विशेष समारोह वा पार्टीमा जाँदा कस्तो पहिरनमा हिँड्ने भन्ने चिन्ता जो कसैलाई पर्छ । मानिसमा पर्ने यस्तै चिन्तालाई कम गर्न काठमाडौँका फेसनमा डिजाइनरहरू लागिपरेका छन् । 

विभिन्न फेसनको डिजाइन गर्दै आएका काठमाडौँका बुटिकहरूमा ‘समर सेल’ र ‘मनसुन एराइभल’ लाग्न थालेको छ । फेसन डिजाइनर राजेश वंशल मनसुनमा न त धेरै गर्मी न त धेरै जाडो हुने हुँदा सोही अनुसारको फेब्रिक, डिजाइन र रङको संयोजन हुनुपर्ने सुझाव दिनुहुन्छ । कपडामा हल्का न्यानोपना हुुनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार यतिबेला धेरै भद्दा कपडा पनि नचाहिने भएकाले स्टाइलिस कपडा बनाउनु र लगाउनु खासै गाह्रो हुँदैन ।

यो मौसमका लागि पानी नपस्ने, पसिना पनि सोस्ने किसिमका पूरा बाहुला भएका टिसर्ट र गोलिगाँठाभन्दा केही माथि नै रहने पाइन्ट उपयुक्त  हुन्छ । सर्ट वा टिसर्ट जे भए पनि सादा हुँदा राम्रो देखिन्छ । जुत्तामा पनि छालाभन्दा रबर सोल भएका पानी नसोस्ने किसिमका जुत्ता वा स्यान्डल उपयुक्त हुने फेसन डिजाइनरहरू सुझाव दिन्छन् । हल्का पानी वा घाम दुवैबाट बच्न क्यापको प्रयोग पनि फाइदाजनक हुन्छ । 

डिजाइनर वंशल बुटिकमा व्यक्ति अनुसारको पहिरन तयार गरिने हुँदा स्वास्थ्य स्थितिलाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुहुन्छ । केही व्यक्तिले बढी गर्मी महसुस गर्छन् भने केही बढी जाडो महसुस गर्ने हुँदा सोही अनुसारको कपडा डिजाइन छनोट गर्ने अवसर पनि बुटिकहरूले प्रदान गर्छन् । उहाँ भन्नुहुन्छ, “मनसुनमा हल्का चिसो हुने भएकाले ऊनीको फेब्रिकभन्दा नाइलनको एक्रेलिक उचित हुन्छ । यतिबेला लेदर र अन्य ज्याकेट पनि भारी हुने भएकाले असजिलो हुन्छ ।” उहाँ एक हजार पाँच सयदेखि ३५ हजार रुपियाँसम्ममा मनसुन डिजाइनका कपडाहरू बनाउन व्यस्त रहेको बताउनुहुन्छ । हरेक सिजनका लागि कपडा फरक फरक चाहिने हुँदा उचित मूल्यमा व्यक्तित्व सुहाउँदो स्तरीय पहिरन तयार गर्नुपर्ने उहाँको भनाइ छ । 

त्यस्तै अर्का डिजाइनर नीलम मल्ल हरेक वर्ष र सिजन अनुसार पहिरनमा फरकपन ल्याउन सकेमा ग्राहकको रोजाइमा परिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अघिल्ला वर्षको डिजाइनले यो वर्ष पनि बुटिक चलिहाल्छ भन्ने हुँदैन । केही नयाँपन दिनु नै पर्छ । त्यो आकर्षक र व्यक्ति सुहाउँदो, बजारको माग र ग्राहकको क्षमता अनुसारको मूल्य सुहाउँदो पनि बनाउनुपर्छ ।” मुनसुनका लागि केही छोटा, हलुका रङका र धेरै पानी नसोस्ने किसिमका कपडा छनोट उचित हुने उहाँको सुझाव छ । 

यतिबेला महिलालाई उमेर अनुसार अनुहार सुहाउँदो साना तथा ठुला तर हलुका रिङ सुहाउँछ भने पानीमा भिज्दा पनि केही नहुने सेन्डल उपयुक्त हुन्छ । वनपिस वा क्वाटर पाइन्ट लगाउँदा हिँड्दा भिज्ने वा हिलो हुने सम्भावना कम हुन्छ । जुत्ताको छनोट गर्दा हिलो वा पानी नछेप्ने, रबर सोल भएको प्रयोग गर्न डिजाइनरहरूको सुझाव रहेको छ । रङ्गिन छाताले पहिरन जस्तै महिलाको व्यक्तित्वलाई थप उजागर गर्छ ।