• २७ वैशाख २०८१, बिहिबार

खार्पुनाथ गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

blog

पहिलो पटक सिमकोटमा आई पुुगेको खार्पुनाथ गाउँपालिकाको एम्बुुलेन्स । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला जेठ ३१ गते । 
बिरामीहरूलाई सेवा दिने उद्देश्यका साथ खार्पुनाथ गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सर्केगार्ड गाउँपालिकाको सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर ल्याएको एम्बुलेन्सका पार्टहरू जडान कार्य भएपछि मङ्गलबारबाट सञ्चालनमा आएको हो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले गाउँपालिकाले पाएको चार वर्षपछि एम्बुलेन्स सेवा सञ्चालन गर्न सफल भएको बताउनुभयो । एम्बुलेन्स मङ्गलबार खार्पुबाट सिमकोटका सेवा सुरु गरेको हो । अब नियमित रूपमा एम्बुलेन्सले खार्पुनाथ गाउँपालिकाको नल्न पुलबाट जिल्ला अस्पतालका लागि सेवा प्रदान गर्नेछ ।

अध्यक्ष रावलले गाउँपालिकाका बिरामीको अवस्था हेरि निःशुल्कदेखि इन्धन खर्च बापतको शुल्क लिने गरी सेवा सञ्चालन गरिएको बताउनुभयो । यसअघि सो गाउँपालिकामा बिरामी पर्दा नीजि गाडी रिजर्भ गरी बिरामीको अस्पतालसम्म उद्धार हुने गरेको थियो ।

उहाँले अब एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिका बाहिरका बिरामीहरूलाई भने निश्चित शुल्क गाउँपालिकाले उठाउनेछ । सो एम्बुलेन्स २०७६ सालमा गणतन्त्र दिवसको अवसरमा भारतीय दूतावासले सहयोग गरेको थियो । त्यस बीचमा केरुङ नाका तिब्बतबाट हिल्सा हुँदै गाउँपालिकामा ल्याउने प्रयास गरिएको भए पनि कोरोनाको कारण त्यो प्रयास सफल हुन सकेको थिएन । कर्णाली कोरिडोर सलीसल्लासम्म सञ्चालनमा आएपछि एम्बुलेन्स त्यता ल्याइएको थियो । त्यताबाट भने एक महिना अगाडि हेलिकोप्टरमा खार्पुमा ढुवानी गरिएको थियो ।