बाबुराम शर्मा
दोलखा, जेठ ३१ गते । दोलखाको तामाकोसी गाउँपालिकाले पालिकाभित्रका ३० समूह किसानलाई अनुदानमा ब्याडका बोका वितरण गरेको छ । असल शासन समन्वय समिति, गाउँपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत प्राविधिक सहयोगमा ३० वटा ब्याडका बोका वितरण गरिएको पालिका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाको कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत यो अनुदान वितरण गरिएको हो । उन्नत जातका बाख्रा पालन गर्न लगाई किसानलाई व्यावसायिक बनाएर आयआर्जनमा तल्लीन बनाउन पनि कार्यक्रम तय गरिएको हो । कार्यक्रमको अनुगमन समितिले अर्का वर्ष एक करोड बजेट राखी उन्नत जातका गाईभैँसी र बाख्रापालन अनुदान दिने लक्ष्य राखेको छ ।
गाउँमा स्थानीय जातका बाख्रालाई स्थानीय जातकै बोका लगाउँदा पाठापाठी खिनौटा जन्मिने र किसानलाई खासै फाइदा नहुने हुँदा उन्नत बोयर जातको क्रस बोका वितरण गरिएको पालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
यी उन्नत जातका बोकाबाट उत्पादन भएका पाठापाठीले किसानलाई राम्रो फाइदा दिनुका साथै उन्नत जातै बगाल बढ्ने अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो ।
किस्मत प्राइभेट कृषि फार्मले टेन्डरमार्फत ढकाल बाख्रा फार्म सुर्खेतबाट आठ लाख ९८ हजार पाँच सय रुयिाँमा बोका ल्याएको हो । वडा नम्बर १ मा पाँच वटा, २ मा तीन वटा, वडा नम्बर ३,४ र ५ मा पाँच/पाँच वटा, वडा नम्बर ६ मा चार वटा र वडा नम्बर ७ मा तीन वटा बोका वितरण गरिएको छ ।
आयआर्जनकै लागि किस्मत प्राइभेट कृषि फर्ममामार्फत दुई लाख ८४ हजार पाँच सय रुपियाँका ५० वटा बुङ्गुरका पाठापाठी पनि वितरण गरिसकिएको उहाँले बताउनुभयो ।