• १३ साउन २०८१, आइतबार

पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न बागमती सभ्यता समिति

blog

ललितपुर,  जेठ ३१ गते । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दु तथा बौद्धधर्ममा पवित्र मानिन्छ । वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदैछन् ।

उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण वाग्मती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले वाग्मती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ । 

ललितपुरको ज्वागलमा वि.सं. २०५२ मा स्थापना भएको युएनपार्क हाल अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा छ । रुख भएका कारण हरियाली देखिने युएनपार्क आकर्षक बनाउनका लागि काम भइरहेको छ । युएनपार्कअन्तर्गतको करिब एक हजार पाँच सय ७६ रोपनी जग्गा वि.सं. २०७५ देखि अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा रहेको युएनपार्कसँगसँगै वाग्मती किनारमा विभिन्न पार्क निर्माण भइसकेको र कुनै निर्माणका क्रममा रहेको सूचना अधिकारी कमल अर्यालले जानकारी दिनुभयो ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी अर्यालले भन्नुभयो, “वाग्मती कोरिडोर छेउमा साना–ठुला गरी जम्मा ३१ वटा पार्क छन् । हाम्रो स्वामित्वमा भएको केही जग्गा पार्क व्यवस्थापनाका लागि विभिन्न संस्थालाई निश्चित अवधिका लागि दिएका छौँ । उहाँहरूले संस्थागतरूपमा नाम राखेर पार्क निर्माण गर्नुभएको छ ।” 

अधिकारी अर्यालका अनुसार वाग्मती नदीको किनारमा पार्क निर्माणका लागि नदीको माटो निकालेर पार्क व्यवस्थापन गरिएको छ । वाग्मती नदीले माटो बगाएर ल्याउँदा नदीमा माटो थुप्रिएर बाढी पार्क र बस्तीमा पस्छ । नदीको माटो निकालेमा बागमती नदी सलल बग्छ र पार्क र बस्तीलाई पनि जोखिम कम हुन्छ । नदी छेउमा पार्क निर्माण गर्नुले नदी सफा हुन्छ ।

हाल निर्माण भएका पार्कमा टिकटको व्यवस्था गरिएको छैन । म्युजिक भिडियो सुटिङको लागि मात्र केही सीमित रकम लिने गरिएको छ । पार्क व्यवस्थापनका लागि टिकटको सिस्टमको व्यवस्था गरेमा पार्क अझै राम्रो हुने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । “पार्कमा बिहान र बेलुका मान्छेको भिडभाड हुन्छ । बिहान योगा र मोर्निङवाकका लागि मान्छे आउँछन् । आजभोलि त दिउँसो अत्यधिक गर्मी हुने भएकाले गर्मी छल्नका लागि पनि मान्छे पार्कभित्र पस्छन् । अरू बेला भने बेलुकीपख धेरै जना पार्कभित्र घुमिरहेका हुन्छन् । 

“अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती कोरिडोरको छेउमा पार्क मात्र नभई वाग्मती किनारमा भूकम्पपछि भत्किएका मन्दिर पनि निर्माण गरेको छ । अबको करिब चार वर्षपछि वाग्मती किनारका पार्क आकर्षक देखिने छन् ।” एकीकृत विकास समितिका इन्जिनियर असिम अधिकारीले भन्नुभयो । 

वाग्मती किनारमा निर्माण भएका विभिन्न पार्क निर्माण भइसकेपछि त्यसको राम्रोसँग व्यवस्थापन र संरक्षण गर्नको लागि महानगरपालिकालाई हस्तान्तरण गर्ने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । रासस