• १३ असोज २०८१, आइतबार

बजार क्षेत्रका सडक कालोपत्रे

blog

फिदिम समाचारदाता

फिदिम, जेठ ३० गते । मेची राजमार्गमा पर्ने सदरमुकाम फिदिमको मुख्य सडकसँगैका सहायक सडकहरू कालोपत्रे गरिएको छ । कुल १० करोड रुपियाँको लागतमा समर्पित अस्पतालदेखि चारखम्बेसम्मको एक हजार सात सय मिटर र सहायक सडकको एक हजार छ सय मिटर गरी कुल तीन हजार तीन सय मिटर सडक कालोपत्रे गरिएको हो ।

सडक कालोपत्रेका लागि सडक डिभिजन इलामले बोलपत्र आह्वानपश्चात् निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम अगाडि बढाएको थियो । मेची राजमार्गमा पर्ने समर्पित अस्पतालदेखि चारखम्बेसम्म १७ सय मिटर सडक देवन एन्ड साय, एसएसएस सञ्जीव जेभी नामक निर्माण कम्पनीले साढे आठ करोड रुपियाँको लागतमा कालोपत्रे गरेको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर हरिराम रिमालले जानकारी दिनुभयो ।

यस्तै सहायक मार्गहरू कालोपत्रेको जिम्मेवारी फिदिमकै गोद्वार निर्माण सेवाले लिएको रिमालको भनाइ छ । उहाँका अनुसार एक करोड रुपियाँको लागतमा सहायक सडक कालोपत्रे गरिएको छ । सडक कालोपत्रे गर्न आसफाल्ट कङ्व्रिmट प्रविधि प्रयोग गरिएको छ; जसको मोटाइ चार सेन्टिमिटर छ । सडकको कालोपत्रेसँगै सडक बजार क्षेत्रमा सडक बत्ती राख्ने काम पनि अन्तिम चरणमा पुगेको छ । सडक बत्ती राख्न नेपाल विद्युत् प्राधिकरण, फिदिम नगरपालिका र सडक डिभिजन कार्यालय इलामबिच सम्झौता भएको थियो ।