• १३ साउन २०८१, आइतबार

बेथान र मन्थलीमा स्मार्ट बत्ती

blog

काठमाडौँ, जेठ ३० गते । रामेछापको सदरमुकाम मन्थली र सुनापति गाउँपालिका–४, बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले पालिकासँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती जडान गरेको जनाएको छ । बत्ती राखेपछि रातिको समयमा ती क्षेत्र झिलिमिली बनेका छन् । 

मन्थली नगरपालिकामा पर्ने करिब छ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० वटा सडक बत्ती जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ । 

यसै गरी सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा ३३१ स्मार्ट लाइट जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः १४८ र १८३ वटा रहेका छन् । १२.५ मि. अग्लो पोलमा तीन वटा हाइमास्ट लाइट जडान गरिएको छ । सडक बत्तीको लागत दुई करोड रुपियाँ रहेको छ । 

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका ठाउँमा भइरहेको लोडसेडिङको अन्त्यपछि अहिले चौबिसै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत् पु-याउने काम अभियानकै रूपमा भइरहेको बताउनुभयो ।