• १२ पुस २०८१, शुक्रबार

कुशे गाउँपालिकाका-५ बालमैत्री वडा घोषणा

blog

बालमैत्री वडा घोषणा कार्यक्रम । तस्बिर : सहदेव बस्नेत ।

सहदेव बस्नेत 

जाजरकोट, जेठ २९ गते । जाजरकोटको कुशे गाउँपालिकाको वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पुरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो । 

घोषणासँगै यो वडा जिल्लाको पाँचौँ र कर्णाली प्रदेशको १६ औँ बालमैत्री वडाको रूपमा दर्जा भएको छ । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमकाबीच प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख दल बहादुर सिंहले बालमैत्री वडा घोषणा गर्नुभएको हो । 

त्यस्तै, विशेष अतिथि एवं पालिका अध्यक्ष हरि चन्द्र बस्नेतले वडा अध्यक्ष हरि बहादुर सिंहलाई बालमैत्री वडा घोषणा भएको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष हरि चन्द्र बस्नेतले बालमैत्री वडा निर्माणको लागि वडाले सबै सूचक तथा मापदण्ड पुरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको बताउनुभयो । ५१ वटा सूचक अन्तर्गत ९५ प्रतिशतभन्दा बढी सूचक पुरा गरेकोले सो वडा बालमैत्री घोषणा गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । 

बालबालिकामैत्री वडा हुन बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्ता लगायतका न्यूनतम मापदण्ड पुरा गर्नुपर्ने प्रावधान छ । पहाडी क्षेत्र विकास अभियानका निर्देशक रण बहादुर कार्कीले बालमैत्री वडा निर्माणमा साझेदार संस्थाको तर्फबाट वडालाई प्राविधिक रूपमा सहजीकरण गरिएको बताउनुभयो। 

वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा तथा  साझेदार संस्थाहरू सेभ द चिल्ड्रेन (पहाडी क्षेत्र विकास अभियान जाजरकोट, कारितास नेपाल, युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।

कार्यक्रममा बालमैत्री वडा निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै साझेदार संस्थाहरू सेभ द चिल्ड्रेन ,पहाडी क्षेत्र विकास अभियान जाजरकोट, कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट लाई कदरपत्रले सम्मान गरिएको थियो । घोषणा कार्यक्रममा बालबालिका तथा स्थानीयहरूले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनी गरेका थिए ।

वडा नम्बर ५ का वडा अध्यक्ष हरि बहादुर सिंहको अध्यक्षता, जिल्ला समन्वय उपप्रमुख दल बहादुर सिंहको प्रमुख आतिथ्यता तथा कुशे गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेत, उपाध्यक्ष देविका कुमारी सिंह जिल्ला तथा नगरपालिकास्थित विभिन्न सरोकारवाला निकायहरू, दातृ निकायका प्रतिनिधिहरू लगायतको उपस्थितिमा बालमैत्री वडाको रूपमा घोषणा गरिएको हो ।