• ८ मंसिर २०८१, शनिबार

आजदेखि विज्ञान तथा प्रविधि सम्मेलन

blog

काठमाडौँ, जेठ २९ गते । ‘स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन’ मूल नाराका साथ नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन हुने भएको छ । 

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा सोमबारदेखि सुरु हुने सो सम्मेलन मङ्गलबारसम्म चल्ने छ । 

नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिबद्धता यो सम्मेलनले प्राप्त गर्ने बताउँदै नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सङ्घका अध्यक्ष डा. अतुल उपाध्यायले खाद्य स्वच्छ, खाद्य सुरक्षा र पोषणको अवस्थामा थप सुदृढीकरण गर्ने उद्देश्य रहेको बताउनुभयो । समग्र खाद्य इको सिस्टमको दिगो विकास गर्न पनि यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूहरूले लिएको अध्यक्ष उपाध्यायले बताउनुभयो । 

दुई दिनसम्म चल्ने सो सम्मेलनमा सात वटा सत्र छन् । त्यसमा देश तथा विदेशका गरी २४ वटा कार्यपत्र प्रस्तुत हुने सङ्घले जनाएको छ । सम्मेलनमा खाद्य प्रणाली, खाद्य प्रविधि र विज्ञान, पोषण, खाद्य सुरक्षा, जलवायु परिवर्तन र नवप्रवर्तनको विषयलाई सम्बोधन गर्ने बताइएको छ । उच्च मूल्य जाने बालीका उत्पादन र प्रशोधन तथा सर्टिफिकेसन, रैथाने प्रविधि र बालीको महत्व, खाद्य र पोषण सुरक्षामा जलवायु परिवर्तनको असरलाई कसरी न्यूनीकरण गर्नेलगायतका विषयमा पनि छलफल हुने सङ्घले जनाएको छ ।