• १३ साउन २०८१, आइतबार

अविरल काव्य यात्रामा शुभेच्छुका १२ कविता

blog

अविरल काव्य यात्राको ७९ औं शृङखलामा कविता वाचन गर्नुहुँदै डा. रमेश शुभेच्छु। साथमा कार्यक्रममा उपस्थिति अतिथि ।

काठमाडौं, जेठ २८ गते। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरेको ‘अविरल काव्य यात्रा’ को ७९ औँ शृङ्खलामा डा. रमेश शुभेच्छुका एक दर्जन कविता वाचन भएका छन्।  

अविरल काव्य यात्राको नयाँ शृङ्खलामा शभेच्छुले ‘मेरो परिवार’, ‘अँध्यारो’, ‘स्वयम्भू’, ‘आमाको मुख’, ‘रातो बत्ती’ र ‘उल्टो न्याय’ गरी छ ओटा कविता वाचन गर्नुभयो। अन्य ६ वटा कविता अन्य कविले वाचन गर्नुभएको हो। 

कवि जय गौडेल ‘हन्मेर्नो’, नारायण निरासी ‘अचानो’, देवु लुइँटेल ‘माझी’, गीता सापकोटाले ‘आमा’, ‘द्रोणाचार्यमाथि अभिमन्यु प्रश्न’ र  डम्बर पहाडीले ‘लुखुरेको वादी’ कविता वाचन गर्नुभएको हो। 

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि  प्रतिनिधि सभाका सांसद दयालबहादुर शाही हुनुहुन्थ्यो। 

समारोहमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व अध्यक्ष खगेन्द्र राई, मधेशी आयोगका आयुक्त सेतु, डम्बर घिमिरे, रामणि ढुङ्गेल, डा. कृष्ण भारद्वाज, इन्द्रकुमार श्रेष्ठ सरित, नवराज रिजाल, गोपाल मैनाली, डा. भागवत आचार्य, आर.सी न्यौपाने, डा. सीता सुवेदी पन्थी, ज्ञानु विद्रोही, रूपक अलंकारगायतको  उपस्थिति थियो। 

राष्ट्रिय जनसाहित्य सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. हरिप्रसाद सिलवालले कवि रमेश शुभेच्छुकको साहित्यिक परिचय दिनुभयो भने प्रा. केशवप्रसाद सुवेदीले कार्यक्रममा वाचन गरिएका कविताको समीक्षात्मक टिप्पणी गर्नुभयो। 


कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस युगका लेखकले महाभारतको युगका व्यासको काम गरेको बताउनुभयो। उहाँले लेखकले हामीलाई प्रेरित गर्न सक्ने गरी लेख्नुपर्ने भन्दै लेखनले समाज परिवर्तनमा सघाउने  विचार राख्नुभयो। कार्यक्रम राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका उपाध्यक्ष नर्मदेश्वरी सत्यालले धन्यवाद ज्ञापन गर्नुभयो।