• १३ असोज २०८१, आइतबार

माईधार–दोमुखा सडक कालोपत्रे

blog

लीलाराज खड्का

बिर्तामोड, जेठ २८ गते । शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक कालोपत्रे भएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा करिब तीन किलोमिटर लामो सडक कालोपत्रे भएको हो। 

उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित चार करोड २४ लाख ८३ हजार २४५ रुपियाँबाट कालोपत्रे भएको हो। जसमा शिवसताक्षी नगरपालिकाको दुई करोड २४ लाख ८३ हजार २४५ रुपियाँ र सङ्घीय समपूरक कोषको दुई करोड रुपियाँ रहेको छ। सडक ढलरहित सात मिटर चौडाइ कालोपत्रे भएको छ। जसमा तीन वटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइपसमेत निर्माण भएको छ। 

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले माईधार–दोमुखा सडक कालोपत्रे गर्न धेरै बाधा व्यवधान आए पनि सम्पन्न भएको बताउनुभयो। निर्वाचित भएको वर्ष दिनभित्रै महत्वपूर्ण सडक नगरकै बजेटबाट पूरा गर्न पाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो। 

शिवसताक्षीको माइधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाइ आयोजनाले २०३३ सालमा निर्माण गरेको थियो। त्यसपश्चात् अहिलेसम्म उक्त सडकको स्तरोन्नति हुन सकेको थिएन। करिब ४० वर्षपछि यो सडक कालोपत्रे भएको हो।

शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्कीले सडक निर्माण मापदण्ड अनुसार सम्पन्न भएको बताउनुभयो। दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो कालोपत्रे बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या थप वृद्धि हुने अपेक्षा गरिएको छ।