• १३ साउन २०८१, आइतबार

‘आधुनिक युगको लोकतन्त्र’ लोकार्पित

blog

काठमाडौँ, जेठ २८ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीद्वारा लिखित पुस्तक ‘आधुनिक युगको लोकतन्त्र’ शनिबार लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितले सो पुस्तकको लोकार्पण गर्दै असल र सक्षम व्यक्तिलाई पार्टी र सरकारको नेतृत्वमा लाग्न सके मात्र जनताले परिवर्तनको अनुभूति गर्ने बताउनुभयो। 

प्रकाशित पुस्तकमाथि टिप्पणी गर्दै पूर्वराजदूत टङ्क कार्कीले लेखक ज्ञवालीले यस पुस्तकमा लोकतन्त्रसित सम्बन्धित १८ वटा क्षेत्रमा कलम चलाउनुभएको र उहाँका विचार सबैका लागि निकै सान्दर्भिक भएको बताउनुभयो। कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका महासचिव विनोदकुमार भट्टराईले समाज विकासको आदिम कालदेखि अहिलेसम्मका शासन व्यवस्थाको चित्रण गरी लेखक ज्ञवालीले बौद्धिक कृति ल्याउनुभएको भन्दै सुशासन, राजनीतिक संस्कार र स्वतन्त्रताबिना लोकतन्त्र बलियो बन्न सक्दैन भन्नुभयो। लेखक युवराज ज्ञवालीले विश्व लोकतन्त्रमा देखिएका अहिलेका समस्या र तिनको समाधानको उपायसमेत पुस्तकमा समेटेको बताउँदै राजनीतिलाई सेवा नभई पैसा कमाउने पेसा बनाउने हो भने मुलुक लुटतन्त्रमा परिणत हुन्छ भन्नुभयो। 

उहाँले लोकतन्त्रबिनाको समाजवाद र समाजवादबिनाको लोकतन्त्र काम लाग्दैन भन्दै सक्षम सामूहिक नेतृत्वले मुलुक चलाउँदा मात्र अन्याय परेको समुदायमाथि न्याय हुने र मुलुक अगाडि बढ्ने बताउनुभयो।