• १३ साउन २०८१, आइतबार

हास्यव्यङ्ग्य सम्मान रिजाललाई

blog

डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, जेठ २७ गते । मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाललाई हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान प्रदान गरिएको छ । सिस्नुपानी नेपाल मकवानपुरले आफ्ना पूर्व अध्यक्ष पौडेलको स्मृतिमा स्थापना गरेको २५ हजार रुपियाँ राशिको सो सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा रिजाललाई वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुईँटेलले प्रदान गर्नुभएको हो । 

आफूले पाएको पुरस्कार २५ हजार रुपियाँमा हास्यव्यङ्ग्यकार रिजालले २५ हजार रुपियाँ थपगरी सिस्नुपानी नेपाल मकवानपुर मार्फत हास्यव्यङ्ग्यका बाल प्रतिभालाई प्रोत्साहित गर्न अक्षय कोष स्थापनाका लागि कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।  

साथै रिजालले आगामी वर्षभित्रमा अक्षय कोषको राशी एक लाख रुपियाँ बनाउने  प्रतिबद्धता पनि जनाउनुभयो । साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्षसमेत रहनुभएका रिजाललाई साहित्य क्षेत्रका महत्वपूर्ण योगदान गरेवापत सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरले प्रकाशन गरेको सिर्जना र सम्झनामा डा. गणेशकुमार पौडेल स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । पौडेलका साहित्यिक कृतिहरुसँगै फुटकर रचनाहरु प्रकाशित छ । 

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा हास्यव्यङ्ग्यकार नरनाथ लुइटेल, संस्थाका उपाध्यक्ष मिनप्रसाद लामिछाने, हास्यव्यङ्ग्यकार रामचन्द्र आचार्य फुर्सदी, मातृभूमि साहित्य समाजका पूर्व अध्यक्ष ह्यग्रीव आचार्य, सुपुत्र गौरव पौडेललगायतले साहित्य र समाजसेवामा पौडेलले गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।