• १३ साउन २०८१, आइतबार

‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

blog

भुँडीपुराण प्रकाशनले प्रज्ञा प्रतिष्ठानमा गरेको शब्दबिम्बमा ‘सत्यमोहन पुस्तक कृति लोकार्पण’ गर्दै वरिष्ठ पत्रकार भैरव रिसाल, पुस्तकका लेखक तथा सम्पादक गोपीकृष्ण ढुङ्गानालगायत । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, जेठ २७ गते । वाङ्मय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सँगालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ ।

भूँडीपुराण प्रकाशनद्वारा आज (शनिबार) यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवम् साहित्यकारले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । पत्रकार गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित पुस्तकमा लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ, समाचार र कविता खण्डमा उहाँसम्बन्धी लेखक, साहित्यकार र पत्रकारका लेख समेटिएका छन् । पुस्तकमा जोशीका केही मुख्य कृति र तस्बिर पनि समावेश गरिएका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले विलक्षण प्रतिभाशाली जोशी नेपाली समाजले श्रद्धा र सम्मान गरेको अपवाद व्यक्तिका रुपमा रहनुभएको बताउनुभयो । पत्रकार श्रीओम रोदनले लवाइखुवाई र हिँडाइसहित सबैले सिक्नुपर्ने सादगी जीवनशैली व्यतीत गर्नुभएका संस्कृतिविद् जोशी जीवित सङ्ग्रहालय र सम्पदाका रुपमा सबैको प्रेरक बन्न सफल हुनुभएको धारणा राख्नुभयो ।

प्रा.डा. लेखप्रसाद निरौलाले इतिहास, संस्कृति, साहित्य र मानवताका दृष्टिकोणले जोशी नेपाली समाजमा शिखर पुरुषकारुपमा हुनुहुन्थ्यो भन्नुभयो । समालोचक प्रा.डा. ज्ञानु पाण्डेले संस्कृतिविद् जोशीले साहित्य, कला, दर्शन, पुरातत्त्वका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको विभिन्न पाटो र पक्षबाट विश्लेषण गर्नुभयो ।

पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सङ्घर्षले सत्यमोहनलाई र सत्यमोहनले सबैलाई सिकाएको सङ्घर्षको चर्चा गर्दै जोशी जिउँदो मानव सम्पदा भएको बताउनुभयो । उहाँले जोशीको सङ्घर्ष, हक्की स्वभावलगायत विषयमा उहाँको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।

पुस्तक प्रकाशक केशवप्रसाद पराजुलीसहित समारोहका अन्य वक्ताले राणाकालदेखि गणतन्त्रसम्म सबैबाट उक्तिकै श्रद्धाभाव प्राप्त गर्नुभएका जोशी सबै नेपालीका प्रेरक र पूजनीय भएको टिप्पणी गर्नुभयो ।

आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, सम्पादकीय खण्डमा सात, तीन अन्तर्वार्ता, परिसिस्टाङ्क १७, समाचार १२ र कवितामा तीन सिर्जना समावेश छन् । चार सय आठ पृष्ठको उक्त कृतिको मूल्य रु पाँच सय ९० रहेको छ । संस्कृतिविद् जोशीको २०७९ असोज ३ गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो । रासस