• १३ असोज २०८१, आइतबार

२५ महिनामा पनि बनेन पाँच सय मिटर सडक

blog

कबिराज घिमिरे 

हिले, जेष्ठ २६ गते । कोशी राजमार्ग अन्तर्गत धनकुटाको हिले कुवापानी सडक भत्किएको करिब तीन वर्षभन्दा बढी भयो । सडक बनाउन ठेक्का लागेको नै २५ महिना पुग्यो । तर सडक बन्न सकेको छैन । 

सो सडक खण्ड अन्तर्गत पाँच सय मिटर सडक ६४ लाख ९६ हजार रुपियाँमा २०७७ सालको चैत महिनामा ठेक्का लागेको थियो ।  समयमै सडक निर्माण नभएपछि २०७८ पुसमा पुनः म्याद थप गरिएको सडक कार्यालय धनकुटाले जनाएको छ । 

थपिएको म्यादअनुसार सडक गत पुस महिनामै सक्नु पर्ने थियो । अहिलेसम्म ३५ प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर सुशान्त उप्रेतीले जानकारी दिनुभयो । सो सडक निर्माणका लागि विराटनगरको शशिधर निर्माण सेवाले ठेक्का पारेको थियो । 

ठेक्काअनुसार सडकको दायाँबायाँ नाली निर्माण तथा सडक पक्की गर्नेगरी सम्झौता भएको थियो । सडक म्याद थप नगरी क्षतिपूर्ति तिराएर भए पनि असारभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको डिभिजन सडक कार्यालय धनकुटाका सूचना अधिकारी इन्जिनियर विकास कुमारले जानकारी दिनुभयो ।

सडक समयमै निर्माण नहुँदा ठुला साना सवारी साधनलाई आवतजावतमा समस्या हुने गरेको छ । धनकुटासहित तेह्रथुम भोजपुर सङ्खुवासभा यही सडक हुँदै सवारीसाधन ओहोरदोहोर गर्नेगरेका छन् । पानी परेपछि भत्किएको सडकमा पानी जम्ने भएकाले तथा हिलोले झन् समस्या गराएको स्थानीयको गुनासो छ । 

दुई बर्खा यसरी नै कटाएको र यो वर्ष पनि बन्ने छाँटकाँट नभएकाले यो वर्ष पनि समस्या जस्तोतस्तै रहने स्थानीय राम तामाङले बताउनुभयो । हिलेदेखि कुवापानीसम्मको करिब एक किलोमिटर सडक निर्माण गर्नुपर्ने अवस्थामा पुगेकोमा आधा सडक भने अर्कै ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरिसकेको छ ।