• १३ साउन २०८१, आइतबार

नागरिक खबरदारी जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नागरिक आन्दोलनका अगुवा । तस्बिर : उपप्रधान तथा गृहमन्त्रीको निजी सचिवालय

काठमाडौं, जेठ २६ गते। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका आरोपित अदालतबाट उम्किन नसक्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रूपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्नेसमेत बताउनुभएको छ।

नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन ? भन्ने लिखित प्रश्न र आशङ्कासहित शुक्रबार आफूलाई भेट्न गृह मन्त्रालय आउनुभएका डा. सञ्जीव उप्रेती, केशव सिग्देल, युवराज घिमिरे, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापाको नागरिक आन्दोलनका अगुवालाई आश्वस्त पार्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो। उहाँले शरणार्थी प्रकरण सम्बन्धी थप अनुसन्धानलाई जारी राख्नेसमेत बताउनुभएको छ। 

उपप्रधानमन्त्री श्रेष्ठले शहीदको लाममा मिसिन तयार हुने तर सुशासन र जनसेवाका लागि लडिरहने बताउनुभयो। ठोस तथ्य प्रमाण बिना  अभियोगीले बयानमा पोलेकासम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग रहेको उहाँको भनाइ छ।