• १३ वैशाख २०८३, आइतबार

कोहलपुर पूर्ण खोप सुनिश्चितता नगरपालिका

blog

साबित्री गिरी 

कोहलपुर, जेठ २६ गते । कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि जिल्ला खोप समन्वय समितिका सह संयोजक समेत रहनु भएका जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्कीले कोहलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु भएको हो । 

कोहलपुर नगरपालिकाका एक वर्ष मुनिका एक हजार ७७६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य थियो । त्यसै बीच ११ जना खोप लगाउन छुटेका थिए । छुटेकालाई पनि खोप लगाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिनुभयो । 

घोषणा सभा पालिका खोप समन्वय समिति संयोजक समेत रहनुभएका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सह संयोजक समेत रहनुभएका जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्कीले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट वञ्चित हुन नहुने बताउनुभयो । 

त्यसैगरी नगर प्रमुख आचार्यले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा नगरपालिका प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो । 

यस्तै, कार्यक्रममा बोल्दै नगर उप प्रमुख सङ्गीता सुवेदीले खोपको सवालमा नगरपालिकाले प्रभावकारी कार्य गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने गरी पालिका लागेको बताउनुभयो । 

जिल्ला खोप समन्वय समितिले खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेकामा कोहलपुर नगरपालिकालाई कदरपत्र सही सम्मानित गरेको छ । अहिलेसम्म कोहलपुर नगरपालिकासहित खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकालाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले १३ प्रकारका रोग विरुद्धका खोप बालबालिकालाई लगाउने गरिन्छ ।