• १३ असोज २०८१, आइतबार

माइधार-दोमुखा सडक कालोपत्रे सम्पन्न

blog

लीलाराज खडका

बिर्तामोड, जेठ २६ गते । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक कालोपत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । 

उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित चार करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालो पत्रे भएको हो । जसमा शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र सङ्घीय समपूरक कोषको दुई करोड रकम रहेको छ । 

सडक ढलरहित ७ मिटर चौडाइ कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भड र दुई वटा ह्युमपाइप समेत निर्माण भएको छ । 

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले धेरै बाधा व्यवधानहरू बीच माईधार –दोमुखा सडक कालो पत्रे सम्पन्न भएको बताउनुभयो । सडकमा निर्माण भएका कल्भर्डहरु केही समय जाम गर्नु पर्ने भएकाले कल्भर्टको काममा समय लाग्ने नगर प्रमुख थोप्राको भनाइ छ ।  

नगर प्रमुख थोप्राले स्थानीय तह निर्वाचनमा आफ्नो चुनावी एजेन्डाको रूपमा पनि यो सडकलाई समेत राख्नुभएको थियो । आफूले निर्वाचित भएको बर्षदिनभित्रैमा महत्त्वपूर्ण सडक नगरकै बजेटबाट पुरा गर्न पाएको भन्दै नगरप्रमुखले खुसी व्यक्त गर्नुभयो । 

शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाई आयोजनाले वि स २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात् अहिलेसम्म उक्त सडकको स्तरोन्नति हुन सकेको थिएन । करिब ४० वर्षपछि यस सडक कालोपत्रे भएको हो ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सडक निर्माण मापदण्ड अनुसार सम्पन्न भएको बताउनुभयो ।   

माइधारबाट दोमुखासम्म बाटो राम्रो नहुँदा यहाँ आउने पर्यटकहरूले सास्ती व्यहोर्नु परेको थियो । दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो कालो पत्रे बनेपछि आन्तरिक तथा वाह्यि पर्यटकहरूको सङ्ख्यामा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।