• ९ मंसिर २०८१, आइतबार

संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह

blog

दिक्षान्त कार्यक्रमबारे जानकारी गराइँदै । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर,  जेठ २६ गते । बाह्र वर्षपछि बगेको खोलो फर्कन्छ भनेजस्तै संस्कृत विश्वविद्यालयमा बाह्रै वर्षपछि दीक्षान्त समारोह हुन थालेको छ  । २०६८ साल यता दीक्षान्त समारोह आयोजना नगरेको विश्वविद्यालयले जेठ ३१ गते पाँचौँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । 

दीक्षान्त समारोहका विषयमा शुक्रबार विश्वविद्यालयले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेले २०६७ देखि २०७६ सम्म शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह (वीएएमएस), आचार्य र विद्यावारिधि उत्तीर्ण गरेका चार हजार सात सय ७३ जनामध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन थालेको बताउनुभयो । 

दीक्षान्त समारोहका लागि तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।  समारोहमा सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यता रहनेछ । दीक्षान्त समारोहमा शास्त्री (स्नातक) तहका   एक सय ६३, एक वर्षे शिक्षा शास्त्रीका ९०, आयुर्वेद स्नातक तह (वीएएमएस) का ५७, आचार्य (स्नातकोत्तर) तहका एक सय ४५ जना र विद्यावारिधिका एक सय २० जना विद्यार्थीले दीक्षित हुन थालेका छन् ।  

दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न हुनेछ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. भीम खतिवडाका अनुसार २०५४ मा पहिलो पटक दीक्षान्त समारोह आयोजना गरिएको थियो । २०५५, २०५७, २०६८ हुँदै पाँचौँ पटक २०८० मा आयोजना गर्न थालिएको हो । 

लामो समयसम्म दीक्षान्त समारोह नभएकै कारण विद्यार्थीले मूल प्रमाणपत्र प्राप्त नगरेका कारण विदेशमा पढ्न जानबाट वञ्चित हुँदैआएका थिए । कुलसचिव प्राध्यापक माधव अधिकारीले दीक्षान्त समारोह सम्पन्न गर्न ७५ लाख बजेट खर्च लाग्ने बताउनुभयो । 

यस पटक आयुर्वेद स्नातक तह (वीएएमएस) का विद्यार्थी पहिलो पटक दीक्षित हुन थालेका छन् । दीक्षान्त समारोह आयोजना हुन थालेपछि विश्वविद्यालय परिसरभित्रका सडक कालोपत्रेको काम सुरु गरिएको छ । गत वर्ष मात्रै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नुभएको थियो ।