राजमती इङ्नाम (लिम्बू) स्थानीय तहको अध्यक्ष/प्रमुखमा निर्वाचित मोरङकी एक मात्र महिला हुनुहुन्छ। २०७४ को स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित उहाँ २०७९ मा अध्यक्ष बन्नुभयो। ५४ वर्षीय इङ्नाम लामो समयदेखि नेकपा (एमाले) मा आबद्ध रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ। प्रस्तुत छ, गाउँपालिकाको विकास गतिविधि, सम्भावना, चुनौतीलगायतका विषयमा अध्यक्ष इङ्नामसँग गोरखापत्रका हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
चालु आर्थिक वर्षका कार्यक्रम सम्पन्न गर्ने र नयाँ आर्थिक वर्षको बजेट तयारी गर्ने समय हो यो। व्यस्तता धेरै होला नि ?
चालु आर्थिक वर्षको एक महिना मात्र बाँकी रहेकाले योजना सम्पन्न गर्ने हतारो छ। यससँगै आगामी आर्थिक वर्षका योजना, कार्यक्रम र बजेट बनाउनुपर्ने छ। गाउँवासी विकास निर्माणको माग लिएर आइरहनुभएको छ तर सङ्घीय सरकारले अनुदान कटौती गरेको छ। विकास निर्माणका लागि स्थानीय स्रोतको खोजी गर्नुपर्ने चुनौती थपिएको छ।
अघिल्लो पाँच वर्ष उपाध्यक्ष भएर काम गर्नुभयो। अहिले अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ। यो छ वर्षको अनुभव कस्तो रह्यो ?
जिम्मेवारीका हिसाबले अध्यक्ष कार्यकारी पद हो। नीति निर्माण, योजना छनोट, सबैखाले प्राकृतिक प्रकोप र दुर्घटना सबै कामको समाधान अध्यक्षको कार्यक्षेत्रभित्र पर्छन्। अध्यक्षको जिम्मेवारी र भूमिका धेरै हुन्छ। महिला भएर काम गर्न अलि अप्ठ्यारो नै हुँदो रहेछ। मान्छे/समाजले हेर्ने दृष्टिकोण सकारात्मक पाएकी छैन।
चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयनको अवस्था कस्तो छ ?
अधिकांश कार्यक्रम कार्यान्वयनको चरणमा छन्। ‘प्राविधिक विधामा रोजगारी कानेपोखरीका छोराछोरी’ कार्यक्रम अन्तर्गत अतिविपन्न ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छौँ। ‘निःशुल्क शिक्षा, पालिकाको इच्छा’ कार्यक्रम अन्तर्गत चार वटा सरकारी विद्यालयमा ११ र १२ मा अध्ययन गरिरहेका ५९८ विद्यार्थीलाई निःशुल्क पढाइरहेका छौँ। ‘सासूको इच्छा बुहारीलाई शिक्षा’ कार्यक्रमबाट १५ जना बुहारी स्नातक पढिरहनुभएको छ। ‘आमाको सिप सन्तानलाई, अर्गानिक गुन्द्रक मोरङलाई’ कार्यक्रम पनि अन्तिम चरणमा पुगेको छ। विद्यालयमा बिमा कार्यक्रमले पूर्वप्राथमिक र प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका र अभिभावकको सरकारी विद्यालयमा आकर्षण बढेको छ। ‘आफ्नै बारी अर्गानिक पोखरी’ कार्यक्रमले करेसाबारीमा पनि माछापालन गरेर ३२ किसानले लाभ लिइरहनुभएको छ।
सामाजिक क्षेत्रमा के कस्ता उपलब्धि हासिल भएका छन् ?
अहिले हामी अतिविपन्नलाई आवास दिइरहेका छौँ। ३८ परिवारले सुरक्षित आवास पाइसके, त्यति परिवारका लागि घर बन्दै छन्। हामीले ६२ परिवार भूमिहीन, दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसक्यौँ। १०२ परिवार जग्गा पाउने अवस्थामा हुनुहुन्छ। कानेपोखरी अस्पतालमा दुई जना मेडिकल अधिकृत राखेर उपचार सेवा दिइरहेका छौँ। १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न हुन लागेको छ।
पूर्वाधार र विकास निर्माणका काम पनि हुँदै होलान् नि ?
अघिल्लो पाँच वर्ष हामीले सडकमै धेरै खर्च ग-यौँ। यस पटक कम छ। दुई वटा माध्यमिक विद्यालयका भवन निर्माण भइरहेका छन्। पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सातवटै वडामा नालासहितको सडक निर्माण भइरहेको छ। झोलुङ्गे पुल निर्माण भइरहेका छन्।
कानेपोखरी गाउँपालिका ग्रामीण क्षेत्र हो, यहाँका अधिकांशको पेसा कृषि नै हो। कृषि क्षेत्रमा कस्ता कार्यक्रमलाई अगाडि बढाउनुभएको छ ?
कृषि र पशुपालन नै कानेपोखरी गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधार हुन्। गाउँपालिकाले तोरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिरहेको छ। यो वर्ष मात्र हामीले तीन हजार पाँच सय हेक्टरमा खेती गरेर तीन हजार १५० टन तोरी उत्पादन ग-यौँ। यसको बजार मूल्य ४७ करोड २५ लाख रुपियाँ हुन्छ। दूध उत्पादनमा हाम्रो गाउँपालिकाले छलाङ मारेको छ। सुत्केरी गाईभैँसीलाई एक हजार रुपियाँ स्याहार खर्च दिने कार्यक्रमका लागि २० लाख रुपियाँ विनियोजन गरेका थियौँ। उक्त रकम अपुग भएकाले पाँच लाख रुपियाँ थप गरेका छौँ। वर्षभरि दुई हजार पाँच सय माउ गाईभैँसी ब्याएको तथ्याङ्क छ। हाम्रो गाउँपालिकाबाट दैनिक १५ हजार लिटर दूध बाहिर जान्छ। वार्षिक साढे ३५ करोड रुपियाँको दुध बिक्री हुन्छ। मासु उत्पादनका लागि साझेदार संस्थासँग मिलेर काम गरिरहेका छौँ। विपन्न परिवारका आमाहरूलाई मासु उत्पादनमा जोड्ने काम गरिरहेका छौँ। चैतेधानको समर्थन मूल्य तोकेर खरिद गरिदिने ठुला चामल मिल खुलेका छन्। अब हाम्रो ध्यान चैतेधान खेतीतर्फ जाने छ।
आगामी आर्थिक वर्ष सङ्घीय र प्रदेशबाट आउने अनुदान घट्ने देखिएको छ। यसले गाउँपालिकाको बजेट र कार्यक्रममा कस्तो प्रभाव पार्ला ?
अनुदान घटेपछि त्यसको प्रभाव त रहन्छ नै तर पनि हामी सङ्घ र प्रदेशको मात्र बाटो हेरिरहेका छैनौँ। विगतमा ७० लाख रुपियाँ आन्तरिक स्रोतबाट उठ्थ्यो, अहिले ११ महिना पूरा नहुँदै एक करोड ३५ लाख रुपियाँ आम्दानी गरिसक्यौँ। ‘मैले तिर्ने कर गाउँपालिकाको भर’ अभियान नै चलाएर राजस्व उठाएका छौँ, आन्तरिक आम्दानी अढाई करोड पु-याउन सकिन्छ भन्ने हाम्रो अनुमान हो। करका दर बढाएर होइन, दायरा फराकिलो बनाएर कर सङ्कलन गर्ने नीति लिएका छौँ।