• १३ साउन २०८१, आइतबार

तराईमा तातो हावा, जनजीवन कष्टकर

blog

जनार्जन खत्री

सर्लाही, जेठ २५ गते । सर्लाहीसहित तराई क्षेत्रमा तातो हावा अर्थात् ‘लू’ नरोकिँदा जनजीवन अत्यन्त कष्टकर बनेको छ । 

यहाँ दिनभर चर्को घाम लागेर तातो हावा चल्दा मानिसलाई दैनिकी गुर्जान मुस्किल पर्न थालेको हो । आगोको राप झैँ अत्यन्त तातो हावा चल्दा घरबाहिर निस्कन सक्ने अवस्था छैन । 

तराई क्षेत्रमा अघिल्लो हप्ताको सोमबारदेखि गर्मी ह्वात्तै बढेकोमा केही दिनदेखि तातो हावा समेत चल्न थालेपछि जनजीवन प्रभावित बनेको हो । उखरमाउलो गर्मी र तातो हावाले बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति बढी प्रभावित भएका छन् ।

मजदुर र किसानलाई पनि मुस्किल पर्न थालेको छ । लालबन्दी बजारस्थित एक हार्डवेयर पसलबाट ठेलामा समान ओसार्ने काम गर्ने लक्ष्मण चौधरीले चर्को घाम र तातो हावाको रापका कारण ठेला चलाउन नसक्ने अवस्था आएको गुनासो गर्नुभयो । 

चौधरीले गर्मी सहेरै भएपनि दुई छाक टार्नका लागि ठेला चलाइरहेको बताउनुभयो । “घरभित्रै बस्न सक्ने अवस्था छैन, झन् ठेला तानेर हिँड्दा ढलिन्छ की ! भन्ने डर लाग्छ,” चौधरीले भन्नुभयो, “दिनभर ठेला तान्दा असिनापसिना भएर शरीर गलेर शिथिल भइन्छ, टाउको समेत अत्यधिक दुख्छ ।” 

अत्यावश्यक काम परेर बाहिर निस्कनु पर्नेहरूलाई सडक तातेर हिँड्नै गाह्रो पर्ने अवस्था छ । आम मानिस गर्मीका कारण छटपटिएर दिनरात कटाइरहेका छन् । राति समेत घर तथा ओछ्यान दुवै तातेर सुत्न सक्ने अवस्था नरहेको चन्द्रनगर गाउँपालिका–६, कामदकी पारोबती माझी (मुसहर) ले बताउनुभयो । “गर्मीले दिनभर बाहिर निस्कन सकिँदैन, राति झन् घर, जमिन सबै तातेर हपक्क गर्मी हुन्छ,” माझीले भन्नुभयो, “हामीले त जसोतसो खेपिरहेका छौँ, बालबालिका र वृद्धवृद्धालाई यो गर्मीले असाध्य मुस्किल पारिसक्यो ।” 

यस क्षेत्रमा अहिले हरेक मानिस भेट्दा वा फोनमा कुरा हुँदा गर्मीकै कुरा धेरै हुन्छ । चर्को घाम र तातो हावाका कारण सडक, बजारमा मानिसको चहलपहल पातलिएको छ। 

विभिन्न कार्यालयमा सेवा लिन पुग्ने र यात्रा गर्ने यात्रु पनि शिथिल बनेका छन् । पालो पर्खनुपर्ने प्रशासन, विद्युत्, यातायातलगायत कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही भीडमा उभिएर गर्मी खप्न बाध्य भएका छन् । 

तापक्रम अत्यधिक बढ्दा मकै र धानको ब्याड सुक्न थालेको भन्दै किसानले गुनासो गरेका छन् । सुख्खा बढ्दा चुरेभेगका बस्तीमा खानेपानीको अभाव समेत हुन थालेको छ। 

ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले मानिसलाई पिउने, सरसफाइ गर्ने र बस्तुभाउलाई खुवाउने पानीको चरम अभाव भएको जानकारी दिनुभयो । “धारा, इनार सबै सुकेकाले स्थानीयलाई एक गाग्रो पानी जुटाउन नै समस्या पर्न थालेको छ,” वडाध्यक्ष खत्रीले भन्नुभयो । 

वडाध्यक्ष खत्रीका अनुसार पानी नपर्दा मकै बाली सुक्दै गएको छ । चिसो नहुँदा किसानले राखेका धानको ब्याड उम्रिन सकेको छैन । तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी भई अत्यधिक गर्मी हुँदा मानिस बिरामी पर्न थालेका छन् । सदरमुकाम मलङ्गवा निवासी डाक्टर गुणेश्वर झाले यो बेला अचेत हुने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो, टाइफाइड, अपजजस्ता गर्मीजन्य सङ्क्रमणका बिरामी बढिरहेकाले प्रशस्त पानी पिउन र चर्को घाम लागेको तथा तातो हावा चलेको बेला घरभित्रै बस्न सुझाव दिनुभएको छ। 

तापक्रम अत्यधिक बढेर चर्को गर्मी हुँदा मानिससँगै पशुचौपाय, वन्यजन्तु, चराचुरुङ्गी समेत प्रभावित भइरहेका छन् ।