• १३ साउन २०८१, आइतबार

भाषाबाट चिनिएकी मिस पबी

blog

पवित्रा साकी अर्थात् मिस पबी । तस्बिर शेखर चाैलागाई

काठमाडौँ, जेठ २५ गते । सामाजिक सञ्जालका विभिन्न ‘प्लेटफर्म’ मध्ये टिकटक अत्यन्त लोकप्रिय छ । टिकटकमा चाँडोभन्दा चाँडो स्थापित हुन कतिपयले भड्किला पहिरन, नवशृङ्गार वा अभिनय गरेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै आएका छन् तर अन्यभन्दा पृथक् रूपमा टिकटकमा प्रस्तुत भएर पवित्रा साकी अर्थात् मिस पबीले दुई चार लाख होइन करिब दस लाख सर्वसाधारणको मन जितिसक्नुभएको छ, त्यो पनि एक वर्षको बिचमा । 

सामान्य हिसाबमा प्रस्तुत भएर पनि सबैको ध्यान तान्न सकिन्छ भन्ने ‘रोलमोडल’ नै बन्नुभएको छ उहाँ यतिबेला । सुदूरपश्चिमको डडेलधुराकी पबीले आफ्नै गाउँठाउँको स्थानीय भाषा, बोली र लवजलाई टिकटकमा प्रस्तुत गरिरहँदा अहिलेसम्म नौ लाख ८१ हजार फलोअर्सले पछ्याइरहेका छन् । करिब छ करोडले उहाँको टिकटकलाई ‘लाइक’ गरेका छन् । नेपालमा मात्र होइन विदेशमा पनि उहाँलाई पछ्याउनेको कुनै कमी छैन । उहाँका करिब आधा फलोअर्स बङ्गलादेशका मात्र छन्, यसै गरी भुटान र भारतमा पनि उहाँलाई पछ्याउनेको जमात बढ्दो छ । 

केवल २३ वर्षको उमेरमा प्रसिद्धिको स्वाद चाख्नुभएकी पबी डडेलधुरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । घरकी जेठी छोरी पबीको पहिलो चाहना सेफ बन्ने थियो तर सोचेजस्तो कहाँ हुन्छ र । उहाँ फेसन डिजाइनसम्बन्धी कोर्स गर्न केही समयका लागि भारतको नयाँ दिल्ली पनि पुग्नुभयो ।  

सुरु सुरुमा आफ्नो भाषामा भन्दा पनि अरूका गीतमा लिप्सिङ गरेर टिकटक बनाउने गरेकी मिस पबी आफ्नो पहिलो टिकटिक बनाउँदाको क्षण सम्झनुहुन्छ, “गत वर्ष डडेलधुरामा लागेको स्थानीय मेलामा बहिनी, म र साथी  हिँडेर जाने निधो ग-यौँ ।  जाँदा र फर्किंदा हिँडेर नै गइयो । जाँदा बाटो ओरालो थियो भने फर्किंदा उकालो । हिँड्दा हिँड्दा अलि थकाइ पनि लागेको थियो । त्यस बेला टिकटक बनाउनँ भन्ने सोच आयो । आफ्नै भाषामा बिस सेकेन्डका दुई वटा भिडियो बनाएँ । खासै त्यति ध्यान दिएर बनाएको पनि होइन । राति घर आएर पोस्ट गरेँ । दुई दिनमै उक्त भिडियो झन्डै तीन लाख मानिसले हेरे ।”

यसको मुख्य कारण थियो सुदूरपश्चिम प्रदेशमा बोलिने डोट्याली भाषाको प्रयोग । सुरुमा कसैले नेपालकै भाषा हो पनि भनेर सोध्नुभयो, उहाँ भन्नुहुन्छ, “पछि यो विदेशको होइन हाम्रै नेपालको भाषा भनेर प्रस्ट्याएँ । यसरी ख्याल ख्यालमै स्थानीय भाषामा बनाइएको टिकटक भिडियो भाइरल हुन पुगेपछि उहाँले झन् धेरै टिकटकमा भिडियोहरू बनाउन थाल्नुभयो । उहाँको चर्चा चुलिएसँगै उहाँलाई म्युजिक भिडियो, विज्ञापन र प्रमोसनल सामग्रीमा अभिनय गर्ने प्रस्तावको ओइरो लाग्यो । हालसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएकी पबीलाई यहाँसम्म आइपुग्न दर्शकका साथै घरपरिवारको पनि उत्तिकै साथ रहेको देखिन्छ । 

टिकटकबाट धेरै चर्चा कमाए पनि त्यसबाट आर्थिक लाभ भने खासै कमाउन नसकेको उहाँको भनाइ छ । म्युजिक भिडियोबाट हुने आम्दानीले नै अहिले उहाँको दैनिकी चलिरहेको छ । आफूले कमाएको चर्चालाई सक्दो सदुपयोग गर्ने उहाँको सोच छ । आफ्नै युट्युब च्यानल अनि ब्लगमार्फत डोटेली भाषा र गाउँ ठाउँलाई प्रवर्धन गर्ने योजना उहाँको छ । 


आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उहाँ बताउनुहुन्छ । “सायद मैले आफ्नै भाषा नबोलेको भए यति चर्चा हुँदैनथ्यो र कसैले पनि चिन्दैनथे होला,” मिस पबीले भन्नुभयो । “मलाई मेरै भाषाले चिनायो । त्यसैले डोट्याली भाषाप्रति गर्व छ ।” सुरु सुरुमा अरूका गीतमा लिप्सिङ गरेर बनाउने गर्थें । यत्तिकै हिँडेर गीत हालेर बनाउने गर्थें तर पछि पछि खुलेर बोल्न थालेपछि फलोअर्स एकदमै बढेको उहाँको भनाइ थियो । मैले पहिला यत्तिकै टिकटक बनाउँदा तीसदेखि चालिस हजार फलोअर्स हुने गर्नुहुन्थ्यो तर अहिले बढेर एकैदिन तीनदेखि चार लाखसम्म भयो । 

टिकटकले मान्छेको दैनिकी परिवर्तन गरिदिने रहेछ । समाचार हेर्न पनि टिकटक रोज्न थाले मानिसले उहाँ भन्नुहुन्छ, टिकटकले राम्रो प्रभाव पनि पारिरहेको छ र नराम्रोतिर पनि धकेलिरहेको छ । यसको प्रयोग कसरी गर्ने भन्ने कुरा हो । कतिपयले ‘लाइभ’ बसेर नराम्रो गरेको पनि सुनिन्छ । गिफ्ट पाइन्छ भनेर जे पनि गर्ने छन् । यो राम्रोसँग प्रयोग ग-यो भने राम्रो हो । नराम्रो तरिकाले प्रयोग ग-यो भने नराम्रो नै हो ।” उहाँ आफू अहिलेसम्म लाइभ नबसेको प्रस्ट्याउनुहुन्छ ।  गिफ्टबाट केही आएको छैन । 

उहाँले गत आमनिर्वाचनमा डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालको पक्षमा प्रचार गर्दै टिकटक बनाउनुभएको थियो, जसले उहाँलाई थप चर्चामा ल्यायो । सो स्मरण गर्दै भन्नुहुन्छ, “धेरैको अनुरोधलाई टार्न नसकेर मैले उहाँको भिडियो बनाएकी हुँ ।” भिडियो बन्नुभन्दाअघि ढकालसँग उहाँको भेट भएको थिएन । उहाँहरूको भेट चुनावको एक दिन अगाडि भएको थियो । कतिपयले ढकालले धेरै मत ल्याउनुमा पबीको पनि भूमिका रहेको बताउँछन् ।