• १३ साउन २०८१, आइतबार

तरकारी खेतीबाट युवाले गरे लाखौं आम्दानी

blog

सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसान उमेश मेहता तरबारी बारीमा काम गर्नुहुदै । तस्विर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, जेठ २४ गते । देशभरबाट युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका बेला सुनसरीका युवाहरूले भने उदाहरणीय काम गरेर स्वदेशमै मनग्य कमाउँदै आएका छन् । सुनसरीका युवाहरूले आफ्नै भूमिमा लाखौँ आम्दानी गरी स्वरोजगार बन्न सफल भएका छन् । 

सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका –२ का किसान उमेश मेहताले आफ्नो तीन बिघा जग्गामा श्रमगरी परबल, लौका र करेला लगाएर वार्षिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ ।

मेहताले गाउँघर र बजारमा युवाहरू नहुँदा कतै धेरै खेतखलिहान बाँझो रहेको भए पनि आफूहरूले आफ्नै घरमा खाएर खाली खेतमा तरकारी उब्जाएर विदेशी तरकारी विस्थापित गरेको बताउनुभयो । दैनिक लाखौँ रुपियाँको तरकारी भारतबाट भित्रिनेगरेको र नेपालमा खाली जग्गा रहेको अवस्थालाई ध्यानमा राखी तरकारी खेतीमा लागेको मेहताको भनाइ छ ।

त्यसैगरी कनैहया महेताले केही वर्ष पहिला घर खर्च चलाउन गाह्रो भएपछि साथीहरूको सुझावले तरकारी खेतीमा लागेको बताउनुभयो । मेहताले अरूको देशमा श्रम र पसिना बेचेर कष्ट जीवन बाँच्नुभन्दा आफ्नै घरमा बसेर तरकारी खेतीको काम रोजेको बताउनुभयो  । 

गाउँमा दुई हजार रुपियाँ प्रतिकट्ठाको जग्गा भाडा लिएर तरकारी खेतीगरी मनग्य आम्दानीबाट लाखौँ रकम कमाउँदै आएको उहाँले बताउनुभयो । जग्गामा काउली, बन्दा, काँक्रा, करेला, परबल, प्याजलगायतका तरकारी उत्पादन गरी लाखौँ आम्दानी गर्दैआएको बताउनुभयो । 

इनरुवा –९ का रामचन्द्र महेताले पनि भाँडामा लिएर निरन्तर तरकारी खेतीमा व्यस्त रहनुभएको छ ।  बारीमा गरेको खेतीबाट खुसी र सन्तुष्ट रहेको मेहताको भनाइ छ । स्थानीय किसानले तरकारी खेतीमा देखाएको रुचिलाई ध्यान दिँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत पकेट तथा ब्लकमार्फत अनुदान उपलब्ध गराएको छ ।