• १३ असोज २०८१, आइतबार

म्याद सकिन लागेपछि पुलको काम सुरु

blog

पुल निर्माणस्थल खोटाङ र उदयपुरको सिमान बंशिलाघाट । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, जेठ २४ गते । खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने बंशिलाघाटस्थित सुनकोसी नदीमा म्याद सकिन लाग्दा पुल निर्माणको काम सुरु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका –५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका –१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटमा पुल निर्माणका लागि २०७७ पुस २८ गते ठेक्का सम्झौता भएको थियो ।

एमएस कालिका–बेदांसी जेभीले भ्याट र पिएससहित १९ करोड १८ लाख ४१ हजार चार सयमा निर्माणको जिम्मा पाएको हो । सम्झौताअनुसार आगामी २०८० असोजमा पुलको म्याद सकिदैछ । निर्माण कम्पनीले भर्खर काम सुरु गरेको छ ।

म्याद सकिन केही समय बाँकी रहँदा निर्माण कम्पनीले जेठ १९ गतेबाट पुलको फाउण्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो ।

सम्झौताअनुसार बंशिलाघाटमा पाइल फाउण्डेसन भएको १५० मिटर लम्बाई भएको प्रिस्ट्रेस बक्स गिर्डर ब्रिज बन्नेछ । तर निर्माण कम्पनीले समयमा काम सक्ने छाँटकाँट देखिदैन । निरन्तरको खबरदारीपछि ठेकेदार मेसिन लिएर बंशिलाघाट बल्ल पुगेको प्रदेश सांसद भूपेन्द्र राईको भनाइ छ । हाल ठेकेदारले काम सुरु गरेको स्थानीयले बताएका छन् । 

पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेको ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो । 

पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मेन ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको प्रदेशसभा सदस्य राईले बताउनुभयो ।