• १३ असोज २०८१, आइतबार

ठुला योजनामा बजेट केन्द्रित गर्ने स्थानीय तहको निर्णय

blog

सान्थाक्रामा आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागी जनप्रतिनिधि लगायत । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, (सान्थाक्रा) जेठ २४ गते । ताप्लेजुङका स्थानीय तहले परिणाम देखिनेगरी ठुला योजनाहरूमा बजेट केन्द्रित गर्ने भएका छन् । वितरणमुखी योजनाका कारण परिणाम नआएको र गरेको कामले कुनै परिवर्तन नल्याएको भन्दै स्थानीय तहले ठुला योजनामा बजेट केन्द्रित गर्ने जनाएको हो ।

आगामी आर्थिक वर्षका लागि योजना छनोट तथा बजेट निर्माणमा जुटेका स्थानीय तहले परिणाम देखिने खालका ठुला योजनामा बजेट केन्द्रित गर्ने तयारी गरेका छन् । जिल्लाको मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक ठुला योजनामा मात्र बजेट विनियोजन गर्ने जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गामले कामको परिणाम देखिने खालको योजना छनोट र त्यस्ता योजनामा मात्र बजेट खर्च गर्ने तयारी गरिएको जानकारी दिनुभयो । बुधबार मेरिङ्देन गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रामा आयोजित जनतासँग जनप्रतिनिधि सवाल–जवाफ कार्यक्रममा स्थानीय सरकारका रूपमा रहेको गाउँपालिकाले गरेको कामबाट नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी योजनाहरू छनोट गर्न लागेको अध्यक्ष हाङ्गामले बताउनुभयो । अत्यावश्यक बाहेक परिणाम नआउने टुक्राटुक्री योजनालाई निरुत्साहित गरिने पनि उहाँले बताउनुभयो ।

पालिका उपाध्यक्ष दुर्गा चोङ्बाङले पनि जनताका आवश्यकता असीमित रहेपनि परिणाममुखी योजनाको आवश्यकता भएकाले सोहीअनुसार आगामी योजना छनोट तथा बजेट विनियोजनको तयारी गरिएको बताउनुभयो । उपाध्यक्ष चोङ्बाङले साना तथा टुक्रे योजनाले आफ्नो क्षेत्रको विकास नहुने अर्थात् परिणाम नआउने र नदेखिने भएकाले ठुला योजनामा बजेट खर्च गर्नुको विकल्प नभएको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले सहजीकरण गर्दै आएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा पालिका अध्यक्ष हङ्गामा, उपाध्यक्ष चोङ्बाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहले स्थानीयले उठाएका सवालहरूको जवाफ दिनुभएको छ । यस्तै मेरिङ्देन गाउँपालिका–२ का वडाध्यक्ष तेजकुमार चोङ्बाङ, वडा नम्बर ३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बु लिम्बू, वडासदस्यहरु, अन्य विषयगत शाखाका कर्मचारीलगायतले उठेको सवालमा जवाफ दिनुभएको छ । 

कार्यक्रममा स्थानीय सर्वसाधारण, शिक्षक, विद्यार्थी लगायतले गाउँको विकास योजना, शिक्षा, कृषि आदि विषयमा सवाल तथा प्रसङ्ग उठाएका छन् । सम्बन्धित गाउँपालिकाको आर्थिक सहयोगमा वडा वडामा पुगेर जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल पत्रकार महासङ्घ शाखा अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो ।