• १३ वैशाख २०८१, बिहिबार

चुरोट कारखाना सञ्चालनको पक्षमा छैनौँ : मन्त्री रिजाल

blog

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, जेठ २३ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको पक्षमा नरहेको बताउनुभएको छ । चुरोटले मानव स्वास्थ्यमा विभिन्नखालका समस्या सिर्जना गर्ने गरेका कारण सरकार चुरोट कारखाना सञ्चालनको पक्षमा नरहेको बताउनुभयो । 

मन्त्री रिजालको सम्मानका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा लामो समयदेखि सरकार स्थिर नभएका कारण उद्योगी व्यवसायीलाई विभिन्नखालको समस्या झेल्नुपरेको भन्दै वर्तमान सरकार पाँच वर्षसम्म जाने भएकाले अवका केही दिनमा व्यवसायीको धेरैजसो समस्या समाधान हुने बताउनुभयो । 

उहाँले गरीखानेलाई गरीखान दिनुपर्छ भन्ने मान्यताका साथ सरकारले व्यवसाय सञ्चालनका लागि लाइसेन्स लिन लगाइएका प्रतिबन्धहरू चाँडै हटाइने बताउनुभयो । उहाँले व्यापारीहरूलाई राम्ररी व्यवसाय गरी मनग्य आम्दानी गर्न सुझाव समेत दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले व्यापार गर्ने होइन । व्यापारीहरुले नै व्यापार गर्नुपर्छ ।” 

‘सरकारले त्यसका लागि ऐन कानुनदेखि पूर्वाधार निमार्णको काममा सहयोग गर्ने हो’ मन्त्री रिजालले भन्नुभयो, “कोरोना महामारी, रशिया र युक्रेन युद्धलगायतका कारण अर्थतन्त्र चलायमान हुन सकेका कारण देशको अर्थतन्त्र जटिल मोडमा गएको र त्यसको सुधारका लागि सरकार लागिपरेको छ ।” 

जनकपुरधामको विकास र समृद्धिका लागि विभिन्नखालका सम्भावनाहरू देखिएको भन्दै ती सम्भावनामाथि हामी सबैले काम गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णा यादवले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा भारत सरकारले नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने गरेको सम्झौताले नेपालको अर्थतन्त्रमा आउने दिनमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा सहभागी भएकाहरूले मन्त्री रिजाललाई उद्योग व्यवसायको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गरीदिन आग्रह गर्नुभएको थियो । उद्योग वाणिज्य सङ्घ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठसहितका पदाअधिकारीहरुले उद्योग व्यवसायको क्षेत्रमा देखिएका चुनौती, समस्या र समाधानका सन्दर्भमा मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, प्रदेशसभा सदस्य शेषनारायण यादवसहितले धारणा राख्नुभयो ।