• ८ मंसिर २०८१, शनिबार

परीक्षामा गुणस्तरीय सुधार

blog

पछिल्लो समयमा नेपाली शिक्षा प्रणालीमा व्यावहारिक ज्ञानको अभाव देखिन थालेको छ। परीक्षा प्रणालीमै अनेक कमजोरी देखिएको छ। प्रश्नपत्रमा समेत यथास्थिति छ। अघिल्ला वर्षहरूको परीक्षामा आएका प्रश्नका जवाफ रटेर, घोकेर परीक्षाको तयारी गर्ने परम्परा छ। सीमित प्रश्नको जवाफले उत्तीर्ण हुने प्रवृत्ति निकै बढिरहेको तथ्य यथार्थ हो। विडम्बना पनि कस्तो रहिआएको छ भने अघिल्ला वर्षका परीक्षाहरूमा सोधिँदै आएका प्रश्नहरू पछिल्ला वर्षहरूमा समेत दोहोरिँदै आइरहेको स्थिति छ। यो प्रवृत्ति विशेष गरी ८, १० तथा १२ कक्षामा निकै पाइने गरेको छ। यसैले पनि हाम्रो शिक्षा प्रणालीले घोकन्ते, रटन्तेको संज्ञा पाइरहेको पनि वास्तविकता नै हो। यो परम्परामा सुधार गर्नुपर्ने जरुरी थियो।  

सीमित प्रश्नको जवाफकै भरमा परीक्षा उत्तीर्ण हुने परम्पराले विद्यार्थीमा ज्ञान र सिपको अभाव हुन्छ। यस्तो प्रवृत्तिकै फलस्वरूप परीक्षा तथा विद्यार्थीको गुणस्तरीयतामा ह्रास आइरहेका पाइएको छ।  गेसपेपर, गाइड जस्ता परीक्षा सहयोगी शैक्षिक सामग्रीको बजार जताततै पाइने भएका छन्। त्यसको अपार व्यापारसमेत भएको छ। यस्तो व्यापार निकै नै लहलहाउँदो अवस्थामा पुगेको पक्षलाई नकार्न सकिँदैन। नेपालको शैक्षिक प्रणालीलाई सुधार्न आवश्यक थियो। विद्यार्थीको वैयक्तिक उन्नयनमा सुधार ल्याउन पनि यो प्रवृत्तिमा अङ्कुश लगाउनु जरुरी थियो। यस्तो गलत प्रवृत्तिको सुधार थालिएको विषय महत्वपूर्ण मान्न सकिन्छ। विद्यार्थीमा कक्षाकोठामा अध्ययन गरेर रचनात्मक क्षमता विकास हुन सक्नु कक्षाकोठाको महत्त्वपूर्ण शैक्षिक क्रियाकलाप हो। शिक्षकको सफलतासमेत हो तर हाम्रो वर्तमान शिक्षा प्रणालीमा जसरी भए पनि कक्षा उत्तीर्ण हुने र कक्षा चढ्ने विषयलाई सफलता मान्ने गरिएको छ। यस अर्थमा शैक्षिक प्रणालीमा नीतिगत रूपमै परिमार्जन तथा परिवर्तन आवश्यक देखिएको हो। 

अब परीक्षा प्रणालीले सुधारको बाटो लिएको छ। राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली लागु गर्ने समाचार सार्वजनिक भएको छ। यस प्रणाली अन्तर्गत वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्नपत्र कम्तीमा पाँच वर्षसम्म नदोहोरिने व्यवस्था गरिँदै छ। यस व्यवस्थाबाट पूर्ववत् रूपमा घोकेर वा रटेरभन्दा विद्यार्थीले सिकेको र बुझेको आधारमा परीक्षामा प्रश्नहरूको समाधान गर्नुपर्ने हुन्छ। यस स्तरीकृत परीक्षा प्रणालीबाट विद्यार्थीको सिकाइ र बुझाइको स्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ। एक अर्थमा औँल्याउनु पर्दा घोकेर तथा रटेर मात्र परीक्षामा उत्तीर्ण हुने दिन क्रमशः घर्किंदै जाँदै छन्। 

यसै वर्षदेखि पहिलो चरणमा परीक्षा बोर्डले कक्षा १० को गणित, विज्ञान तथा अङ्ग्रेजी विषयमा यो प्रणाली लागु गर्दै छ भने आउँदो वर्षदेखि अन्य कक्षामा पनि लागु गरिने छ। सरसर्ती हेर्दा यो प्रणाली बढी खर्चिलो तथा समय खपत हुने देखिन्छ तथापि स्तरीय शैक्षिक गुणस्तरका निम्ति यो कदम सरकारको दायित्व तथा जिम्मेवारी पनि हो। बोर्डले तयारीस्वरूप प्रश्नपत्रका हजारौँ सेट निर्माणका लागि मुलुकभरका शिक्षकहरूलाई परिचालन गर्नुले पनि यो प्रणालीको सुनिश्चिततामा बल पु-याएको मान्न सकिन्छ।  

कक्षा १० का साथै कक्षा ११ र १२ का परीक्षा मुलुकभरिका विद्यार्थीले एकैसाथ दिन्छन्। शैक्षिक गुणस्तरीयता, सुविधा जस्ता विषयमा मुलुकभरिका विद्यार्थीलाई एकै स्तरमा राखेर तुलना गर्न मिल्दैन। यस स्थितिमा परीक्षा बोर्डले उपयुक्त प्रश्नपत्र चयन गर्नु पनि सबै विद्यार्थीका निम्ति न्यायसङ्गत हुन सक्छ। शैक्षिक प्रणालीको सुधारका नाममा नयाँ व्यवस्था लागु गर्नुभन्दा पनि यसका विभिन्न पाटाको विश्लेषण गर्नु पनि महत्त्वपूर्ण हुन आउँछ। यस परीक्षा प्रणालीका विज्ञले दिएका सुझाव जस्तै प्रशस्त गृहकार्य तथा विद्यार्थीमाथि नयाँ प्रश्नहरूको परीक्षण गर्नु पनि उपयुक्त हुने देखिन्छ। 

नेपालमा धेरै योजना, रणनीति तथा प्रणालीहरू हतारमा लागु गरिन्छन्। तिनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव केही समयपछि देखिन थाल्छन्। बिनागृहकार्य गरिएका कार्यबाट सकारात्मक फलको अपेक्षा कमै हुन्छ। तसर्थ यो नयाँ शैक्षिक प्रणाली लागु गर्नुअघि पर्याप्त गृहकार्य गरेर तथा विद्यार्थीमा परीक्षण गरेर लागु गर्न सकिएमा उपयुक्त हुनेमा शङ्का छैन। यसबाट भविष्यमा पछुताउनुपर्ने अवस्था नआउने ढुक्क हुन सकिन्छ। शिक्षण सिकाइको सम्बन्ध परीक्षासँग हुने हो। परीक्षा प्रणालीमा सुधार गर्दा शिक्षण सिकाइमा समेत प्रभावकारी रूपमा सुधार गर्नु वाञ्छनीय छ।