• ११ पुस २०८१, बिहिबार

कर्णाली तर्न तुइनकै भर

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ २३ गते । राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न कर्णाली नदीमा पैदल यात्रुले तुइनकै भर पर्दै आएका छन्। 

सर्केगार्ड गाउँपालिका–२ को लेप्चेमा तुइनमा कर्णाली तर्दै गरेका युकेश बोहराले तुइनमा चढ्नु बाध्यता भएको बताउनुभयो। सर्केगार्डबाट सिमकोटतर्फ आउँदै गरेका बोहराका अनुसार स्याल्तडीको झोलुङ्गे पुल तर्दा डेढ घण्टाको बाटो थप हिँड्नुपर्ने हुन्छ। त्यसैले ल्याप्चेमा तुइन तरेर आउजाउ गर्नुपर्ने अवस्था छ। कर्णाली कोरिडोर निर्माण गरिरहेको नेपाली सेनाले ल्याप्चेमा तुइन निर्माण गरेको छ। यसअघि सो स्थानमा स्थानीयले निर्माण गरेको तुइन थियो। अहिले सेनाले आफू पनि नदी वारपार गर्नका लागि निर्माण गरेको तुइन भने सुरक्षित रहेको बताइन्छ। 

स्याल्तडीबाट सेनाले निर्माण गरेको सडकबाट आएर पैदल हिँडेर एक घण्टामा तुइन निर्माण भएको स्थानमा पुग्न सकिन्छ। अर्का पैदल यात्रु राजे बुढाका अनुसार ल्याप्चेको तुइनबाट दैनिक एक सय जनाले वारपार गर्दै आएका छन्। तुइन तर्न नजान्ने यात्रुले भने अन्य सहयोगी मानिसको प्रतीक्षामा तुइन पार गर्ने स्थानमा कुरेर बस्नुपर्ने बाध्यता हुन्छ। खार्पुनाथ गाउँपालिकाको लालीबगर, सर्केगार्ड गाउँपालिकाको दुल्लीकुना, अदानचुली गाउँपालिकाको गल्फागार्डमा तुइन रहेका छन्।