• ८ वैशाख २०८१, शनिबार

आरोहणमा कर्मा गेल्जेनको नयाँ रेकर्ड

blog

काठमाडौँ, जेठ २३ गते । पर्वतारोहणमा बर्सेनि नयाँ नयाँ विश्व कीर्तिमान बन्ने गरेका छन् । यस वर्ष मात्र दर्जन बढी नयाँ कीर्तिमान बनेका छन् । यी मध्येमा एक हो आठ दिनमा दुई पटक सगरमाथाको सफल आरोहण ।

गाइड एवं चर्चित आरोही सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका– १ खरिखोलाका ३३ वर्षीय कर्मा गेल्जेन शेर्पाले आठ दिनमा दुई पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान राखेका छन् । शेर्पाले सातौँ पटक सफल रूपमा सगरमाथा आरोहणसँगै नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका हुन् । 

शेर्पाले २०१९ को मे महिनाको १६ र २३ तारिख भित्र दुई पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमानी राखेका हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अफिसियल रूपमा प्रमाणपत्र पाउने क्रममा छन् । उहाँले हालसम्म अग्ला हिमालहरूमा सात पटक सगरमाथा, एक पटक केटु, एक पटक ल्होत्से, तीन पटक मनास्लु र तीन पटक आमादव्लम हिमाल र अन्य तीन दर्जन बढी साना हिमालहरूको आरोहण गरी सकेका छन् । 

कर्मा गेल्जेन भन्छन्,  ‘मैले सोचेकै थिएन ? यसरी एकै हप्तामा दुई पटक सगरमाथाको शिरमा पुग्छु भनेर,‘ । उनले पहिलो पटक २०१६ मा सगरमाथा आरोहण गरेका थिए । पहिलो पटक सगरमाथा चुचुरो पुग्दा बाटोमा भएको कठिनाइ भुलेको र खुसी महसुस भएको अनुभव सुनाए । 


सगरमाथा र अन्य हिमाल आरोहण सजिलो छैन त्यसमाथि पनि चुचुरो पुग्नु सामान्य विषय होइन । त्यसमाथि पनि विदेशी पर्यटकलाई गाइड गर्नु झन् कठिन विषय हो । 

कक्षा ८ अध्ययनकै क्रममा पर्वतारोहण क्षेत्रमा लागेका उनी हाल हिमालमा निकै नामुद आरोही गाइडको रूपमा चिनिन्छन् । 

उनको बुवा मिङमा दोर्जी शेर्पा पनि पर्वतारोहण क्षेत्रमै छन् । कर्माले कठिन मध्य मानिने हिमालहरूमा पाकिस्तानको केटु, आमादव्लमको पनि सफल आरोहण सक्नु भएको छ । उनले युएस क्लाइम्विङ एसोसिएसनको झन्डा सगरमाथा लगायतका हिमालको चुचुरोमा पुर्‍याएर फहराउन सफल बनेसँगै अमेरिकाको न्यूयोर्कमा रहेको यस संस्थाले सम्मान समेत गरेको थियो ।