• ८ वैशाख २०८१, शनिबार

बेँसीगाउँदेखि भालुखोला चिपटार सडक निर्माण सुरु

blog

गाईघाट समाचारदाता

गाईघाट, जेठ २३ गते । घुर्मी चतरा कोशी कोरिडोर अन्तर्गत उदयपुरको कटारी नगरपालिका वडा नं.–१० स्थित राम्चे बेँसीगाउँदेखि भालुखोला चिपटारसम्म मोटरेबल सडकको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 

पूर्वाधार विकास कार्यालय उदयपुरको एक करोड ७२ लाख रुपियाँको लागतमा बेँसीगाउँ भालुखोला सडकको ट्र्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको र आउँदो असार २० गतेभित्र निर्माण कम्पनीले सो खण्डमा करिब सात किलोमिटर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न गर्ने गरी काम गरिरहेको पूर्वाधार विकास कार्यालय गाईघाटले जनाएको छ। 

मध्यपहाडी लोकमार्गमा जोडिने कोशी कोरिडोरको नामले परिचित उदयपुरको घुर्मी–चतरा खण्ड सडकले यस जिल्लाका सात वटा स्थानीय तहलाई छोएर जाने छ। करिब १० वर्षअघिदेखि अलपत्र हुँदै आएको सो सडकको पुनर्निर्माणमा कटारी, त्रियुगा, चौदण्डी र बेलका नगरपालिकासहित लिम्चुङ्बुङ, रौतामाई र ताप्ली गाउँपालिकाले संयुक्त रूपमा पहल गरेपछि पुनर्निर्माणको काम सुरु भएको हो।

सो सडकको उदयपुरको घुर्मीदेखि सुनसरीको चतरासम्मको १६७ किलोमिटरमध्ये ६० किलोमिटर सडकमा ट्र्याक खोल्न २०६७ मै टेन्डर भएर काम सुरु भएको थियो। निर्माण प्रारम्भ भए पनि सडक सर्भे गर्दा वातावरण प्रभाव मूल्याङ्कन अध्ययन नगरेको भन्दै साबिक जिल्ला वन कार्यालय उदयपुरले निर्माण कार्य रोकेपछि १६७ किलोमिटर दुरी भएको सडकको ट्र्याक खोल्ने काम अलपत्र हुँदै आएको छ। 

सङ्घीय सरकारले १० वर्षअघि निर्माण सुरु गरेर अलपत्र पारेको सडक पुनर्निर्माणका लागि कटारी नगरपालिका, ताप्ली गाउँपालिका र लिम्चुङ्बुङ गाउँपालिकाले यसअघि चासो देखाए पनि स्थानीय तहबाट बजेट विनियोजन गरी सडक निर्माणको काममा लगानी गर्ने वातावरण नबन्दा काम अगाडि बढ्न सकिरहेको थिएन।

२०६७ सालमा २० वटा निर्माण कम्पनीले २० ठाउँबाट ट्र्याक खोल्न सुरु गरेका थिए तर साबिकको जिल्ला वन कार्यालय उदयपुरले वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नगरी निर्माण कम्पनीले काम गर्न थालेको भन्दै काम रोकेपछि योजनाले सरकारबाट (इआइए) स्वीकृत गराएर मूल्य समायोजनको माग गर्दै निर्माण कम्पनीका ठेकेदारले काम बिचमा छोडेर हिँडेपछि सो सडक निर्माण अलपत्र पर्दै आएको छ।

कोशी कोरिडोरले उदयपुरको बेलका, त्रियुगा, चौदण्डीगढी, कटारी नगरपालिका, रौतामाई, ताप्ली र लिम्चुङ्बुङ गाउँपालिकाका उत्तरी भेगका सर्वसाधारणलाई प्रत्यक्ष सुविधा पु-याउने छ। यसका साथै यो सडक खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लालाई प्रदेशको राजधानी विराटनगरसँग जोड्ने सबैभन्दा छोटो दुरीको स्थल मार्ग हो।  

सुनसरी, धनकुटा, भोजपुरलगायतका पूर्वी नेपाललाई काठमाडौँ जोड्ने छोटो दुरीको सडक पनि पर्ने भएकाले रोकिएको काम सुरु गराउन प्रदेश र सङ्घीय सरकारसँग स्थानीय जनप्रतिनिधिले पटक पटक माग गर्दै आएको उदयपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अम्बर रायमाझीले बताउनुभयो। उदयपुरका सात स्थानीय तहमा कोशी कोरिडोरले छुन्छ। जसका कारण विराटनगर, काडमाडौँलगायतका सहर पुग्ने छोटो दुरीको यस कोरिडोर निर्माण भएमा कृषि तथा पर्यटन क्षेत्रमा फाइदा पुग्ने लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई बताउनुहुन्छ। 

हाल सडक निर्माण गरिरहेका निर्माण कम्पनीका व्यवस्थापक कुशल कार्कीका अनुसार यो वर्ष राम्चे बेँसीगाउँदेखि भालुखोलासम्म नयाँ ट्र्याक खोलिने र भालुखोलादेखि घुर्मीसम्मको करिब छ किलोमिटर खण्डमा पनि सडक निर्माण गर्नसके घुर्मीदेखि ताप्ली गाउँपालिकाको रुपाटार कुमाल्टारसम्म सहजै यातायात सञ्चालन गर्न सकिने स्थिति रहेको बताइएको छ।