• ८ वैशाख २०८१, शनिबार

मेलम्चीमा जोखिम कायमै

blog

काठमाडौँ, जेठ २३ गते । मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पु-याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई वर्षअघि २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले सो क्षेत्रमा ठुलो जनधनको क्षति पु-याएको थियो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोला र सो क्षेत्रमा आउन सक्ने बाढीपहिरोको रोकथाम तथा जोखिमबाट बच्न कुनै उपाय नअपनाइएको बताउनुभयो । हेलम्बु गाउँपालिका बाढीपहिरोको सबैभन्दा बढी जोखिममा रहेको स्थानीय तह हो ।

यस क्षेत्रका बासिन्दा जोखिम र त्रासमा नै बाँच्नु परेको गुनासो गर्दै शेर्पाले आमनागरिकको जिउधनको क्षति हुन नदिन बेलैमा बाढीपहिरोबाट यस क्षेत्रलाई बचाउने गरी आवश्यक संरचना निर्माण गरिदिन सङ्घीय र प्रदेश सरकारलाई पटक पटक आग्रह गरिए पनि अहिलेसम्म सुनुवाइ नभएको बताउनुभयो ।

भूगर्भ तथा खानी विभागका भूगर्भविद् शिव बाँस्कोटाले बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएकाले यो वर्षको वर्षायाममा पनि बाढीपहिरोको जोखिम कायमै रहेको बताउनुभयो । मुलुकमा मनसुन भित्रिन अब एक हप्ता मात्र बाँकी रहँदासमेत कुनै तयारी नगरिएको उल्लेख गर्दै उहाँले मेलम्ची क्षेत्रमा बाढीपहिरोको विपत् अहिलेसम्म नटरेको बताउनुभयो । 

“भेम्बाथानको माथिबाट आउने पहिरो रोक्न सकिन्छ तर सो क्षेत्रभन्दा तल पनि पहिरो जान सक्ने थुप्रै स्थान पहिचान भएका छन्,” उहाँले भन्नुभयो, “यो वर्ष पहिरो जान सक्छ । पहिरो जान सक्ने स्थानको पहिचान गरिए पनि दुई वर्षको अवधिमा अहिलेसम्म रोकथामको कुनै उपाय अपनाउन सकिएको छैन ।” 

उहाँले यस वर्ष पनि छोटो समयको अन्तरालमा ठुलो पानी प-यो भने मेलम्ची खोलाको तल्लो तटीय क्षेत्र र मेलम्ची खानेपानी आयोजनामा नै ठुलो क्षति पुग्न सक्ने सम्भावना कायमै रहेको बताउनुभयो । जोखिम घटाउने वा रोकिने कुनै उपाय नअपनाइएकाले सो क्षेत्र र बस्ती पनि पहिले जस्तै जोखिममै रहेको उहाँको भनाइ छ ।

सिन्धुपाल्चोकको भेम्बाथान क्षेत्रमा गरिएको भौगर्भिक अध्ययन अनुसार मेलम्ची क्षेत्रमा फेरि पनि बाढी आउन सक्ने आकलन गर्दै मेलम्ची खोला आसपासका बस्ती स्थानान्तरण गर्न सुझाएकोमा अहिलेसम्म त्यसो गरिएको छैन । त्यसैगरी अध्ययनले मेलम्ची खानेपानी आयोजनाको बाँधलाई समेत अहिलेको ठाउँबाट माथि सार्न सुझाव दिए पनि अहिलेसम्म त्यसो नगरिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीपहिरोको सम्भावित जोखिमबाट आयोजनालाई बचाउन अहिलेसम्म कुनै ठोस उपाय नअपनाइएको स्वीकार्नुभयो  । उहाँले बाढीको समयमा आयोजनाको गेट नं. १ र ९ लाई बन्द गर्न सकिने तथा धमिलो पानीलाई सफा गर्न सकिने प्रणाली जडान गरिए पनि आयोजनाको मुहान, हेडवक्र्स र सुरुङसम्म बाढीपहिरोलाई आउन नदिने गरी अहिलेसम्म कुनै तयारी नगरिएको बताउनुभयो ।