• १६ चैत २०८०, शुक्रबार

सेनाको सफा हिमाल अभियान सम्पन्‍न

blog

सफा हिमाल अभियान समापन समारोहमा सहभागिहरु । तस्बिर : जङ्गी अड्डा

काठमाडौं, जेठ २२ गते । नेपाली सेनाले २०७९ चैत १४ गतेदेखि सुरु गरेको सफा हिमाल अभियान-२०२३ सम्पन्न भएको छ । सेनाले अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्‍चे हिमालको सफाइ कार्य सम्पन्न गरेको हो ।

उक्त अभियानबाट ३५ हजार केजी फोहोर सङ्कलन गर्ने लक्ष्य लिएकोमा सगरमाथा तथा ल्होत्से हिमालबाट १३,६२१ केजी, अन्नपूर्ण हिमालबाट ३,५६७ केजी र बरुञ्‍चे हिमालबाट १८,५२० केजी गरी जम्मा ३५,७०८ केजी फोहोर सङ्कलन गरिएको थियो ।


सङ्कलित फोहोरहरू विभिन्न निकायलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । अभियानको समापनका अवसरमा जङ्गी अड्डामा आयोजित ‘फ्ल्याग इन सेरेमोनी’ लाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२३ सफल पार्न प्रत्यक्ष र परोक्ष रूपमा योगदान दिने वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका सरकारी निकायहरू एवं गैर सरकारी सङ्घसंस्थाहरू, विभिन्न क्षेत्रसँग सम्बद्ध महानुभावहरू तथा सञ्चार जगतलाई धन्यवाद दिनुभयो ।

उहाँले भविष्यमा पनि प्रकृति तथा वातावरण संरक्षणका प्रयासहरूमा नेपाली सेना निरन्तर संलग्न रहने बताउनुभयो । कार्यक्रममा अभियानमा संलग्न दुई जना शेर्पा सहयोगीहरूको निधन भएकोमा दुःख व्यक्त गर्दै उहाँहरूका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो ।


सेनाले दिवङ्गत शेर्पा सहयोगीहरूको योगदानको कदरस्वरुप उहाँहरूका एक एक जना सन्ततिलाई नेपाली सेनाले कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने घोषणा गरेको छ । यस अभियानमा संलग्न नेपाली सेनाका पाँच जनाले सगरमाथा र चार जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।