• १३ असोज २०८१, आइतबार

वातावरण दिवसमा वृक्षारोपण

blog

वृक्षारोपण गर्नुहुँदै डिभिजनल वन अधिकृत, प्रमुख सेनानीलगायत । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, जेठ २२ गते । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ नाराका साथ धनकुटामा वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८० मनाइएको छ ।  डिभिजन वन कार्यालय धनकुटा र भीमदल गण सल्लेरी ब्यारेक धनकुटाको आयोजनामा भीमदल गण सल्लेरी ब्यारेक परिसरमा एभोकाडो, कागती, सुन्तला, अम्बा, जामुनलगायतका फलफूल, तेजपात र सौन्दर्यपरक धुपी, कलकिलगायतका फलफूलका बिरुवा रोपण गरिएको छ । 

प्लाष्टिकजन्य पदार्थले सगरमाथाको शिरदेखि समुन्द्र सतहसम्मको वातावरणमा समेत असर गर्ने हुँदा नेपाल सरकारले प्लाष्टिकको झोला, प्लास्टिकको माला निर्मूलको अभियान सुरु गरिसकेको छ । संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । 

दिवसको अवसरमा डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताउनुभयो । उहाँकाअनुसार सबैको सहयोगले जलवायुजन्यको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको, हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको वनजङ्लको संरक्षण, संवर्द्धन र वन विकासमा टेवा दिने उद्देश्यले सिम्बोलिक रूपमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको छ । 

मानव जातिको महत्त्वाकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको भन्दै डिभिजनल वन अधिकृत श्रेष्ठले विकासलाई वातावरणमैत्री बनाउन वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको चर्चा गर्नुभयो ।  

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्री राई, भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा, सहसेनानी दिपेश बुढाथोकी, सेनानी गोरे गुरुङ, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर छिन्ताङ्गा प्रमुख दपि बलामी, राष्ट्रिय अनुसन्धान अधिकृत सविना राई, जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला वन महासङ्घ उपभोक्ता समितिका अध्यक्ष निलबहादुर थापा, भू तथा जलाधार व्यवस्था कार्यालय धनकुटाका प्रमुख सिवनन्दन यादवलगायतको उपस्थिति थियो ।