• १ जेठ २०८२, बिहिबार

वातावरणको संरक्षण र संवर्द्धन गर्न जरुरी : मन्त्री महतो

blog

विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्नुहुँदै वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतो । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ २२ गते । वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्नुहुँदै मन्त्री महतोले यस्तो बताउनुभएको हो । उहाँले प्रदूषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

मन्त्री महतोले सबै नेपाली नागरिकहरूले फोहोर गर्दिन भन्ने प्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले विश्वको चुनौती भनेको जलवायु परिवर्तनको निर्मूल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । उहाँले हरेक नेपालीहरूले आफ्नो जन्मदिनमा एक बिरुवा रोप्दै जाने हो भने देश हराभरा हुने बताउनुभयो ।

‘‘वातावरणलाई मैत्रीपूर्ण बनाउने हो भने, अरू देशबाट नभई, अरूको भाषण नसुनी आफूबाटै सुरु गरी नेपाली सबै जनताले प्रण गर्ने हो भने, फोहोर गर्दैनौँ, गर्न दिँदैनौँ, प्लाष्टिकको प्रयोग गर्दैनौँ भन्ने प्रण गरेको खण्डमा यसलाई हामी कम गर्न सक्छौँ । अहिले विश्वको चुनौती भनेकै जलवायु परिवर्तन बनेको छ ।,’’ मन्त्री महतोले भन्नुभयो, ‘‘हामीबाट नै यसमा सुरु गरौँ । हामीले आफ्नो जन्मदिनमा एउटा मात्रै बिरुवा रोप्ने हो भने देश हरियाली नै हरियालीले भरिन्छ । हामी ठुला भाषण गर्छौँ तर यहाँबाट निस्किने बित्तिकै चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ । पृथ्वीलाई बचाऊँ, आफैँबाट सुरुवात गरौँ ।’’

मन्त्री महतोले प्लाष्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको बताउनुभयो ।