• १३ साउन २०८१, आइतबार

पशु आहारा उत्पादनका लागि 'साइलेज' उत्पादन

blog

देवचुलीमा साइलेज उद्योगबाट उत्पादन सुरु ।

मीना कंडेल

कावासोती, जेठ २१ गते । नवलपरासीको देवचुली नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । पालिकाले पशु आहारा उत्पादनका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उत्पादन गरी सहुलियत दरमा किसानलाई उपलब्ध गराउने उद्देश्यले साइलेज उद्योग स्थापना गरी उत्पादन सुरु गरेको हो ।

नगरपालिका र गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रमको साझेदारीमा पालिकाको ६४ लाख रुपियाँ र प्रदेश सरकारको एक करोड ५० लाख गरी कुल दुई करोड १४ लाखको लागतमा साइलेज उद्योग स्थापना गरी साइलेज उत्पादन सुरु गरिएको देवचुली नगर प्रमुख हरि न्यौपानेले बताउनुभयो । 

पालिका आफैँले पशु आहारा उत्पादन गरी किसानलाई सहुलियत रूपमा प्रदान गर्ने यो कार्यक्रम देशभरिका पालिकामध्ये देवचुलीमा पहिलो रहेको नगर उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । पशुपालक किसानको समस्यालाई बुझेर त्यसको समाधानका लागि उद्योग स्थापना गर्न लागिएको उहाँको भनाइ छ ।

सुख्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने भएकाले यसको लागी उद्योग नै सञ्चालनमा ल्याइएको हो। "किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गर्नुभएको छ, अब स्थानीय स्तरमै उत्पादन गरेका छौँ, यसले यहाँका किसानलाई लाभ मिल्ने छ", नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले भन्नुभयो ।

"अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत पनि बढेको छ", देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्लेले भन्नुभयो, "किसानहरूले उचित नाफा लिन सकेका छैनन् । उत्पादन लागत घटाउँदै, किसानको नाफा बढाउनका लागि उद्योग स्थापना गरेका हौँ ।" उद्योग स्थापनापछि पशुपालक किसानलाई राहत हुने उहाँको भनाइ थियो । 

उत्पादन लागत बढ्नु, बजारीकरणमा समस्या हुनु लगायत विविध समस्याका कारण कृषि तथा पशु किसान पलायन हुने क्रम बढेकाले यस पेसालाई जोगाउन उद्योग स्थापनाले टेवा पुग्ने विश्वास लिइएको छ । उद्योग सञ्चालनमा आएसँगै दुई जना अपरेटरसँगै ६ जना कामदारहरूले रोजगार समेत पाएका छन् ।