• १३ असोज २०८१, आइतबार

बन्ने भयो डिकमायाको घर

blog

हाल डिकमाया बस्दै आउनु भएको घर । तस्बिर : हरिप्रसाद कोइराला

हरि कोइराला

उर्लाबारी, जेठ २१ गते । घामपानीसम्म नछल्ने घरमा जीवन निर्वाह गर्दै आउनु भएकी मोरङको पथरीशनिश्चरे -४ शिरिसेडाँडाकी डिकमाया अधिकारीको घर निर्माणका लागि सहयोग जुट्न थालेको छ ।

३२ वर्षको उमेरमा तीन वर्ष अघि मुटु रोगबाट श्रीमान् गुमाउनु भएकी डिकमाया त्यसयता कठोर सङ्घर्ष गरेर आफ्ना तीन भाइ छोराहरूलाई हुर्काइ रहनुभएको छ । उहाँका १३ वर्ष, ११ वर्ष र ८ वर्षका छोरा छन् ।  एक कट्ठा ऐलानी जमिनमा रहेको घर केही दिन अघि आएको हुरी बतासले भत्काएपछि डिकमाया यो वर्षयाम कसरी कटाउने भन्ने चिन्तामा हुनुहुन्थ्यो । 

उहाँको समस्यालाई सोही वडाका वडाध्यक्ष लोक किरण न्यौपानेले सामाजिक सञ्जालमा राखेपछि अहिले धमाधम सहयोग जुट्न थालेको छ । वडाध्यक्ष न्यौपानेको अनुसार  घर निर्माणका लागि कबिर लिम्बूले २ ट्याक्टर गिट्टी,पथरी जेसीजले पाँच सय इँटा,तेज पाल थापाले १ ट्रिफर गिट्टी, मोहन लिम्बू ,इलब घिमिरे,राजेन्द्र भण्डारीले ५/५ बोरा सिमेन्ट,मरीचमान लिम्बू र शोभाराज तामाङले ३/३ बोरा सिमेन्ट, रुद्र पोख्रेलले १ ट्याक्टर गिट्टी दिने हुनु भएको छ । यस्तै देवराज अधिकारीले १ ट्याक्टर सोलिङ ढुङ्गा,तिलक माङ्मुले १ ट्याक्टर ढुङ्गा उपलब्ध गराउने हुनु भएको छ । महेश गिरीले घर निर्माणमा आवश्यक पर्ने रड उपलब्ध गराउने हुनु भएको छ । थप आर्थिक सहयोग र तीन भाइ छोराहरूको शिक्षाका लागि सहयोग गर्न समेत स्थानीयले अनुरोध गरेका छन् । 

गैरी गाउँ र पुलचोक युवा क्लबले श्रमदान गरेर घर बनाइदिने वडाध्यक्ष न्यौपानेको भनाई छ । घर निर्माण सम्पन्न भएपछि रङ्ग रोगन र बिजुली जडानको काम खगेन योगीले गर्नु हुने भएको छ ।