• १३ असोज २०८१, आइतबार

‘राजनीतिक स्थिरता भए देशमै रोजगारी’

blog

उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला कार्यक्रम उद्घाटन गर्दै । तस्बिर : भक्तिविलास पोखरेल

गाईघाट समाचारदाता

गाईघाट, जेठ २१ गते । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरी उत्पादनमा वृद्धि गर्नसके मात्रै आत्मनिर्भर हुन सकिने बताउनुभएको छ। त्रियुगा नगरपालिकाको आयोजनामा शनिबार गाईघाटमा भएको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। 

वास्तविक किसानहरूको पहुँच पुग्न नसक्ने अनि नक्कली झोले किसानले सरकारी अनुदान हत्याउने गरेको भन्ने व्यापक जनगुनासो आएकोले अब त्यस्ता नक्कली किसानहरूले सरकारी सेवासुविधा लिन नसकुन् भनेर प्रदेश सरकारले यो वर्षदेखि प्रविधि, मल र बीउबिजनको साथै अन्य उत्पादन गरेपछि मात्र अनुदान दिने व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो।  

मन्त्री सिटौलाले राजनीतिक स्थिरता भयो भने मात्र देशमा रोजगारीको सिर्जना हुनसक्ने भन्दै कोशी प्रदेश सरकार स्टार्टअप व्यवसायमा लगानीको वातावरण बनाउन लागि परेको उल्लेख गर्नुभयो। स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले युवा बहिरिने क्रमलाई कम गर्न निजी क्षेत्रसँग लगानीको वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो। 

कार्यव्रmममा कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले यस प्रकृतिको मेलाले रोजगारदाता र रोजगारीको अवसर खोजिरहेकाहरूलाई जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो। मेलामा दुई दर्जनभन्दा बढी कम्पनीले सहभागिता जनाएका छन्।