• ८ मंसिर २०८१, शनिबार

समयको प्रतिविम्ब

blog

कविताको जन्म हुन कुनै निश्चित समय वा स्थान तोकिएको हुन्न । नेपाली साहित्यको परिवेशमा भन्नुपर्दा, केन्द्रीकृत साहित्यको तामझामले साहित्यमाथिको भ्रम सिर्जना गरिरहेको स्थिति छ । अर्थात् केन्द्रलाई हेरेर साहित्यसँग सम्बन्धित यस्तो अन्योलमा छन् कि नेपाली साहित्यको खानी भनेको केवल राजधानी हो, जे–जति राम्रा साहित्य छन् ती सबै नै केन्द्रबाट उत्पादन भएका हुन् तर यो कदापि सत्य होइन भन्ने तथ्य हिजोआज बाहिरी जिल्लाबाट हुने साहित्य–उत्पादनले पुष्टि गर्ने गरेका छन् । यसै व्रmमको त्यही निरन्तरतामा निकै चहकिलो उज्यालो लिएर देखापर्नु भएको छ एक कवि, उहाँको नाम हो– बाबुराम श्रेष्ठ ।

त्यसो त, श्रेष्ठले २०६३ सालमै आफूले लेखेका कविताको सँगालो ‘देश स्वप्न’ प्रकाशित गरिसक्नु भएको छ । अझ माझिएर उहाँले आफ्नो दोस्रो कृति कवितासङ्ग्रह नै लिएर अझ बढी सम्भावनाका साथ देखापर्नु भएको छ । ‘बुढो समय’ नाम दिइएको प्रस्तुत कृतिमा जम्मा ५० थान विभिन्न शीर्षकका कविता समेटिएका छन् । सङ्ग्रहभित्र छोटो भूमिकामा भनिएजस्तै यसभित्रका कविताले मूलतः समयलाई प्रतिविम्बित गरेका छन् ।

‘बहुरूपी मान्छेका चरित्र

बाटा–बाटामा फिँजारेर

मान्छे स्वयम्

समयलाई जबर्जस्ती बुढो बनाइरहेछ ।’

समाजमा समय रोक्न खोज्नेहरू छ्याप्छ्याप्ती छन् । कम्तीमा पनि तिनीहरू समयलाई जबरजस्ती बङ्ग्याउन खोज्छन् । तर के थाहा तिनलाई, समय कसैको वशमा छैन । सबैभन्दा बलियो दुनियाँमा केही छ, कोही छ भने त्यो पक्का पनि समय नै हो । घडीको समय ढिलो चलोस् या चाँडो चलोस्, अथवा घडी बन्द नै किन नहोस्; या त क्यालेन्डरका पाता फेरिऊन् या नफेरिऊन्, समयलाई के चासो ! समय त समय हो, अडिएर बसिरहँदैन, आफ्नै गतिमा अनवरत हिँडिरहन्छ, आफ्नै रफ्तारमा दौडिरहन्छ । 

अस्थिर समय देखेरै मान्छेले भनेका होलान्– पर्खनू, समय आउँछ । हो, समय आउँछ, पक्कै आउँछ तर कुन रूपमा आउँछ, भन्न सकिन्न, जुनसुकै रूपमा पनि आउन सक्छ मान्छेका अगाडि, समय । एकैछिन पहिले मिर्मिरे भएर आएको बिहानी एकैछिनमा टन्टलापुर घाम लिएर आउँछ, फेरि त्यही समयले साँझ लिएर आउँछ । प्रतीक्षा गरिरहनै पर्दैन, त्यही समय अर्को क्षणमा फेरि अन्धकारको साम्राज्य बोकेर आउँछ । कविले देखेको समय कतै बादलको जुलुसमा सहभागी भएको छ भने कहीँ सहरको भिडमा हराउन पुगेको छ । एक अर्थमा, जताततै समयकै हैकम चलेको छ, त्यसले आफ्नो प्रभुत्व जमाएको छ । आफूखुसी कहिले हुरी बनेको छ र एकैछिनमा फेरि शान्त बनेको छ, कहिले कठ्याङ्ग्रिँदो हिउँ बनेको छ, र एकैछिनमा पग्लेर पानी–पानी बनेको छ । कहिले सहिनसक्नु चर्को ताप बनेको छ र एकैछिनमा बादल छाएर बर्साद भएको छ । समय यस्तो छ, बराबर रूप बदलिरहन्छ । हुन त समयले आफूलाई अनुशासनमा चलेको छु भन्दो हो तर मनपरी चलेको छ त्यो । अर्को शब्दमा भन्ने हो भने समय अराजक छ । अराजक समयको बिगबिगीले केवल प्रकृति त प्रभावित छँदै नै छ समाज–व्यवस्था पनि अछुत छैन । मन्दिरै मन्दिरको भनेर कहलिएको देशमा मन्दिर नै हराएको छ, शान्तिको देशमा बुद्ध हराएको छ, न्यायको देशमा न्यायालय भत्किएको छ ।

हैरान छन् कवि असरल्ल विकृति र विसङ्गति देखेर तर समयसँग कसको के जोर चल्छ र ! केही गर्न वा प्रतिव्रिmया जनाउन मात्रै पनि असमर्थ छन् कवि । केवल टुलुटुलु हेर्न बाध्य देख्छन् स्वयम्भूका आँखाहरूलाई समेत । प्रश्न गर्छन्– के स्वयम्भूका आँखा हेरिरहनका लागि मात्रै हुन् ? न्याय–अन्याय छुट्याउन समर्थ छैनन् आँखाहरू ? बागमती–विष्णुमतीमा पानी होइन आँसुका तीव्र बहावलाई कसरी स्वीकारिरहन सकेको होला स्वयम्भूले ? 

सामान्यतः कवि–हृदय संवेदनशील हुन्छ नै । यस अर्थमा पनि, सङ्ग्रहभित्रका प्रायः कवितामा निराशाका भाव झल्किएका छन् । यतिसम्म कि, फूलहरूलाई समेत मन नपराउने भएर कवितामा पोखिएका छन् । खासमा फूलले आफ्नो कुमारीत्व बिव्रmी गरेको देखेर फूलप्रति घृणा ओकल्नु हुन्छ उहाँ । त्यहीँनेर, देशमा संस्कृतिको जगेर्ना गर्ने सनाई, बाँसुरी, मादलजस्ता बाजागाजाका धुनसमेतलाई कवि मन पराउनु हुन्न, ती धुनहरूलाई विकृत पारी कुनै अश्लील डान्सबारमा बजाइएर शान्ति खल्बल्याएको महसुस गर्नु हुन्छ उहाँ । कवि–मन मार्मिक शब्द बोल्छ–

‘मानवता कहाँ हो कहाँ !

दानवता हाबी छ... 

सुन्छु–

मान्छेहरू पापी पेट भर्न

आफ्नै मुटु बेच्छन् रे !...’

कवितामा मान्छेका हराएका सपनाको उल्लेख छ, मान्छेका खोसिएका सपना अङ्कित छन् । हरेक मान्छेको हृदय रोएको छ, अनेक प्रसङ्गमा, अनेक आयाममा । कोही मौनता अँगालेर रोएका होलान्, कोही खुल्लमखुला रोएका छन् । आँसुको हिसाब कसले राख्न सक्छ र ? समग्रमा, यी बेहिसाब तथ्यमा उभिएर मनमनै कल्पिनु भएको छ कवि । तथापि, उहाँभित्र सम्भावित परिवर्तनको चेत छ, व्रmान्तिचेत । आफ्नो मन–मस्तिष्कमा ‘पाइन’ हालेर खिया लागेको मानवताविहीन तानाशाह ढाल्न जुर्मुराउनु भएको छ कवि । चाहे लाठी बर्सिऊन् वा गोली दागिऊन्; पेटमा भोक सहेरै पनि उहाँ विद्रोहको झन्डा उचालेर हिँड्नु भएको छ । कम्तीमा, विरोधका आवाज बोकेर चिच्याउनु भएको छ कवि ।

त्यसो त, कविहरू समयअघि नै सचेत हुन्छन् भनिन्छ । भालेको डाँक सुनिनुअघि नै ब्युँझन्छन् भनिन्छ । यही अर्थमा, समय रोक्ने ताकत कसैसँग नभएको ज्ञात हुँदाहुँदै पनि समयलाई बदल्ने साहस अर्थात् यथास्थितिलाई नयाँ स्वरूपमा ढाल्ने हिम्मत भने कविका अक्षरमा निश्चित रूपमा हुन सक्छ । कवि बाबुराम श्रेष्ठका कवितामा त्यो सङ्केत प्रस्ट देखिन्छ ।