• १३ साउन २०८१, आइतबार

प्रहरीलाई प्रभावकारी बनाउन आत्मसमीक्षा आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान गर्नुहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, जेठ १९ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि  बढनुपर्ने बताउनुभएको छ।

शुक्रबार इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो।

‘‘प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ’’, श्रेष्ठले भन्नुभयो, ‘‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ। जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो। नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्नेगरी काम गरे सरकारको सफलता देखिने छ।’’

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसर पारेर उहाँ जेठ २ गते सगरमाथाको शिखरमा पुग्नुभएको थियो।

उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाई दिनुभयो। ‘‘नेपाल प्रहरी र नेपाल सरकारलाई जुन गौरव गर्ने अवसर दिनुभएको छ त्यसको लागि पुरुषोत्तम नेपालीलाई बधाई तथा शुभकामना’’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नेपाल प्रहरीले हरेक क्षेत्रमा सफलता प्राप्त गर्दै गौरव गर्ने भूमिका निर्वाह गरेको छ।’’

प्रहरीलाई आजको स्थितिमा ल्याउन भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पूर्व प्रहरी नेतृत्वलाई धन्यवाद दिनुभयो। उपपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘जनताको जीउधनको सुरक्षा, सामाजिक न्यायसहित समृद्धिको गुणात्मक फड्को नै हाम्रो अहिलेको प्राथमिक कार्यभार हो।’’

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै उहाँले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने प्रष्ट पार्नुभयो।

‘‘भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने छ। अझै पनि रुपान्तरणका लागि तयार नहुने प्रवृत्ति कहीँ कतै देखिएको छ’’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘सरकारले पुरस्कार र दण्डको व्यवस्था गर्नेछ। आफूलाई केन्द्रमा राखेर देश र जनतालाई महत्त्व नदिने केही प्रवृत्ति छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ।’’