• १५ वैशाख २०८१, शनिबार

मेस्सीले पीएसजी छाड्ने पक्का

blog

लियोनल मेस्सी ।

काठमाडौं, जेठ १९ गते । अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन(पीएसजी) का सुपर स्टार लियोनल मेस्सीले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ । पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले मेस्सीले क्लब छाड्न लागेको बताउनुभएको छ । 

फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले लिगको अन्तिम खेल शनिबार क्लेर्मन्टसँग खेल्नेछ । उक्त खेल मेस्सीका लागि पीएसजीमा अन्तिम खेल हुनेछ । प्रशिक्षक गाल्टिएरले फुटबलको इतिहासमा आफुले उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने मौका पाएको समेत बताउनुभएको छ । 

३५ बर्षीय मेस्सीको पीएसजीसँगको सम्झौता यसै सिजनसम्म मात्रै छ । मेस्सी सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रिट्रान्सफरमा पीएसजी पुग्नुभएको थियो । त्यसअघि उहाँले बार्सिलोनाका २१ वर्ष विताउनुभएको थियो ।

मेस्सीले पीएसजीका लागि दुई सिजन लिग च्याम्पियन बनाउनुभएको छ । पीएसजीमा मेस्सीले सबै खाले प्रतियोगितामा ७४ खेल खेल्दै ३२ गोल गर्नुभएको छ । मेस्सी पीएसजीबाट साउदी अरब जाने चर्चा चलेको छ ।

मेस्सीलाई बार्सिलोनाले पुन: फर्काउन लागेको चर्चा पनि सुरु भएको छ। खेलाडी जीवनमा सबै खाले उपलब्धि हात पार्नुभएका  मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधि जिताएपछि उहाँको चर्चा थप चुलिएको छ । एजेन्सी