• १४ वैशाख २०८१, शुक्रबार

शीर्षक के हो ?

blog

सङ्गीत जोशी

कक्षाः ८, अक्सिडेन्टल पब्लिक स्कुल

 अनामनगर 

मुना र छुना दिदीबहिनी थिए । उनीहरू काठमाडौँ उपत्यकानजिकैको एक सरकारी स्कुलमा कक्षा ७ मा पढ्थे । मुना हरेक दिन स्कुलमा पढाएको कुरा घरमा आएपछि रिभिजन गर्थिन् । मन लगाएर होम वर्क गर्थिन् । फुर्सदको बेला ममीलाई पनि सघाउँथिन् । क्लासमा पनि ध्यान दिएर पढ्थिन् तर छुना भने स्कुलबाट घर पुग्नासाथ झोला एकातिर फालेर मोबाइलमा झुन्डिन्थिन् । उसको ध्यान कसरी हुन्छ ममीको मोबाइल कब्जामा लिन पाए हुन्थ्यो भन्ने हुन्थ्यो । होम वर्कमा ध्यान हुँदैन थियो । मुना जहिले पनि होमवर्क गरेर डायरीमा ममीको हस्ताक्षर गराउँथिन् । छुना  भने बिहान हतार हतार मुनाको कापीबाट सारेर होमवर्क गर्थिन् । यतिसम्मकी होमवर्क गर्ने डायरीमा ममीलाई हस्ताक्षर गराउनु पर्ने ठाउँँमा आफैँ ममीको नक्कली हस्ताक्षर गरेर लैजान्थिन् । ममीले होम वर्क सक्यौ त भनेर सोध्दा सबै गरिसकँे भन्ने जवाफ दिन्थिन् । 

 पढाइमा ध्यान नदिएर मोबाइलमा बढी समय बिताउने बानी ममीलाई पनि राम्रो लाग्दैन थियो । छुना र मुनाका बुवा कामको सिलसिलामा बाहिर थिए । मोबाइलभन्दा पढाइमा ध्यान दिउँ है छुना भनेर ममीले सम्झाउँदा छुना भन्थिन, परीक्षा नै आएको छैन । परीक्षाका बेला पढे भइहाल्यो नि ममी ? 

मुनाको जस्तै ध्यान देउभन्दा छुना जवाफ दिन्थिन्,  दिमाग कम भएकाले हुन सधैँ किताव घोट्ने त । मजस्ता चलाख त परीक्षाका बेला मात्रै पढे पनि ए प्लस ल्याइहालिन्छ ।  

नभन्दै पहिलो त्रैमासिक परीक्षा आयो । साउन पहिलो हप्ताबाट परीक्षा हुने समय तालिका प्रकाशित भयो । परीक्षा सुरु हुन चार दिन अगाडिदेखि पछि मात्रै छुना पढ्न थालिन् । सुरुदेखि पढाइमा ध्यान नदिएकाले उनलाई याद गर्न निकै गाह्रो भयो । तीन महिनाको पढाइ तीन दिनमा सिक्न खोज्दा उनलाई निकै सकस भयो । सुरुको दिनमा अङ्ग्रेजीको परीक्षा थियो । मुनाले मज्जाले पहिलेदेखि नै पढेकी थिइन् । उनलाई परीक्षामा सोधिएका कुनै प्रश्न अप्ठ्यारो लागेनन् । उनले परीक्षामा सबै प्रश्नको उत्तर सहजै लेखिन् । 

 छुनालाई भने उत्तर लेख्दा निकै गाह्रो भयो । लामो प्रश्नको उत्तर लेख्नै सकिनन् । व्याकरण पनि आधा मात्र सही भयो । प्रश्नहरू हेर्दा सपनामा देखेको जस्तो भयो उनलाई तर लेख्नै सकिनन् । गणितमा त झन् उनको बिजोक नै भयो । आधा प्रश्नको मात्र हिसाब लेख्न सकिनन् । समग्रमा उनको परीक्षा राम्रो भएन । केही दिनपछि परीक्षाफल प्रकाशित भयो । मुना स्कुलमा उत्कृष्ट पाँच जनाभित्र पर्न सफल भइन् । सबैले वाहवाही गरे ।  छरछिमेकले पनि स्याबासी दिए मुनालाई तर छुना भने गणितमा फेल भइन् । अङ्ग्रेजी, विज्ञान र अरू विषयमा पनि सन्तोषजनक अङ्क आएन । घरमा मार्कसिट देखाउनसमेत लाज लाग्यो उनलाई । बुवा विदेशमा थिए । बुवाले भिडियो कल गरेर छोरीहरूको रिजल्टको विषयमा सोधे । छुनाले राम्रै भयो भन्ने जवाफ दिइन् अनि फोन राखिदिइन् । मुनाले भने बुवालाई भिडियोमा मार्कसिट नै देखाइन् । मुनाको रिजल्ट देखेर बुवा खुसी भए । परीक्षा सकिएन पछि पनि छुनाको बानी फेरिएन । 

उनी फेरि मोबाइलमै झुम्मिन थालिन् । उनलाई मोबाइलको लत नै लागिसकेको थियो । ममी अधिकांश समय घरको काममा व्यस्त हुन्थिन् । मुना फुर्सदमा आमालाई सघाउँथिन् भने बाँकी समय पढाइमा व्यस्त । दिनहरू बित्दै गए । तीन महिना बित्न के नै समय लाग्थ्यो र ? फेरि परीक्षा आयो । परीक्षा आए पछि बल्ल छुना पीर गर्न थालिन् । दोस्रो त्रैमासिक परीक्षामा त उनले गणित मात्र होइन 

अङ्ग्रेजीसमेत पास गर्न सकिनन् । उनी पढाइमा कमजोर हुँदै गइन् । मुना कक्षामा उत्कृष्ट पाँचभित्र पर्दा छुना कक्षामा सबैभन्दा कमजोर पाँचमध्ये परिन् । आफ्नो पढाइ सुधार गर्नुको साटो उनी शिक्षकहरूले आफूलाई भेदभाव गरेर कम नम्बर दिने गरेको आरोप लगाउन थालिन् । जे गर्दा नि उनको मोबाइलको लत छुटेन । अन्तिम परीक्षा आयो । यस पटक भने छुनालाई परीक्षाको नाम सुन्दा नै डर लाग्न थाल्यो । परीक्षाको तालिका प्रकाशित 

भएपछि पढ्न थाल्ने गरेकी छुना यस पटक भने परीक्षा आउनु अगाडि नै फेल हुने डरले हतोत्साही देखिइन् । पढ्न त थालिन् तर चिन्ताले सतायो । वर्षभरिको पढाइ एक हप्तामै कहाँ याद गर्न सकिन्थ्यो र ? मुनाले पढाइलाई निरन्तरता दिएकाले सहज रूपमा लिएकी थिइन् । नभन्दै छुना परीक्षा सुरु हुनुभन्दा एक हप्ता अगाडि नै बिरामी परिन् । ज्वरो आयो उनलाई । खान पनि मन नलाग्ने भयो । 

उनलाई बनको बाघले नखाए पनि मनको बाघले खाइसकेको थियो । छुनाको मनमा अङ्ग्रेजी र गणितमा पास हुन सक्दिन भन्ने मनमा भय पसिसकेको थियो । उनले वार्षिक परीक्षा नै दिन सकिनन् । उनलाई परीक्षाको भूत लागिसकेको थियो । परीक्षाको नाम सुन्दा बिरामी हुने अवस्था आयो । एक दिन घरमा मामा आउनुभयो । छुना किन परीक्षामा बिरामी परिन् त ? मामाले सोधे । ममीले  जवाफ दिइन, परीक्षाका बेला मात्र पढ्दाको परिणाम हो, परीक्षाको भूत । त्यसैले हरेक विद्यार्थीले परीक्षाका बेला मात्र पढेर पास हुन सक्छ भन्ने भ्रम पाल्नुको सट्टा पढाइ सुरु भएदेखि नै निरन्तर पढाइ गरिरहनु पर्छ । त्यसो गर्दा पढेको कुरा याद नि हुन्छ । परीक्षादेखि डर लाग्दैन । परीक्षाका बेला मात्र वर्षभरिको पढ्न खोजे त्यो ओभर फ्लो हुन्छ तर सफल हुन सक्दैन ।