• १३ साउन २०८१, आइतबार

पाँच महिनामा भित्रिए चार लाखभन्दा बढी पर्यटक

blog

काठमाडौँ, जेठ १९ गते ।  सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार २५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । 

यस वर्षको जनवरीमा ५५ हजार ७४, फेबु्रअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७३० पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिनाको आगमन सङ्ख्या कोरोनापछिको सबैभन्दा बढी हो ।

तथ्याङ्क अनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार ५७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट आठ हजार ५४५, चीनबाट चार हजार ६६७, बेलायतबाट दुई हजार ९२७, अस्ट्रेलियाबाट दुई हजार १८४ जना पर्यटक आएका छन् । बङ्गलादेशबाट दुई हजार १६४, मलेसियाबाट एक हजार ३२१, जर्मनीबाट एक हजार १६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका हुन् । 

बोर्डका अनुसार सन् २०२२ को मेमा ५३ हजार ६०८, सन् २०२१ को सोही अवधिमा एक हजार ५३१, २०२० मा ३१ जना र कोरोना महामारीअघि सन् २०१९ मा ७८ हजार ३२९ पर्यटक नेपाल भित्रिएका थिए ।