• २९ मंसिर २०८१, शनिबार

प्रमको भारत भ्रमण

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको चारदिने औपचारिक  भ्रमणमा हुनुहुन्छ । बुधबारदेखि सुरु भएको यो भ्रमणमा प्रधानमन्त्रीले द्विपक्षीय हित र चासोबारे भारतका समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग आज बिहीबार छलफल गर्नुहुने छ । भ्रमणपूर्व परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दिनुभएको जानकारी अनुसार भ्रमणका व्रmममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची छन् । नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवर्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गबारे पनि छलफल हुने छ । परराष्ट्रमन्त्रीका अनुसार यस पटक कार्यान्वयन गर्न सकिने सम्झौताका विषयमा छलफल र हस्ताक्षर हुने छ । 

नेपाल–भारतबिच युगौँदेखि सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ । सन् १९५० को शान्ति तथा मैत्री सम्बन्धले युगौँ पुराना सम्बन्धलाई संस्थागत गरेको छ । दक्षिण एसियाका दुई छिमेकीले विकास साझेदार, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक गहन सम्बन्ध जनस्तरसम्म पुगेको अनुपम उदाहरण छ । सात दशकअघिको औपचारिक कूटनीतिक सम्बन्ध विस्तारयता यी दुई मुलुकबिच अनेकौँ सन्धि सम्झौता भएका छन् तर कैयौँ सम्झौता र सहमति कागजमा सीमित भएको गुनासोसमेत छ । यसले कतिपय विषयमा असन्तुष्टिसमेत देखापर्ने गर्छन् । सम्झौता, समझदारीमा हस्ताक्षर गर्ने तर कार्यान्वयन हुन नसकेको सन्दर्भलाई प्रधानमन्त्रीको यो भ्रमणमा हेक्का राखिएको बुझ्न सकिन्छ । 

खुला सीमाका कारण दुई देशका नागरिक बिनाराहदानी र भिसा सीमा वारपार गर्छन्, गरिरहेका छन् । एकअर्को देशमा बस्न र काम गर्न पाउँछन् । वैवाहिक, सांस्कृतिक, सामाजिक, धार्मिक, भाषिक सम्बन्धको आयामले पनि आँगन जोडिएका छिमेकी बनेका छन् दुईतर्फका नागरिक । नागरिक तहको मित्रता, समभावलाई दुवै देशले पुँजीमा बदल्ने अझै धेरै सम्भावना छन् तर यसका लागि सिर्जनात्मक सम्बोधन गर्नुपर्ने विषय धेरै छन् । सीमा क्षेत्रका विवाद थाती छन् । सीमा क्षेत्रका समस्याको सन्दर्भमा तुइन काण्ड, नेपाली सीमा क्षेत्रमा प्रवेश गरी भारतीय पक्षबाट कुटपिट, दुव्र्यवहार, नेपालको नक्सा प्रकाशनपछि भारतीय पक्षको असन्तुष्टि आदि बिर्सन सकिन्न । नेपालबाट बर्सेनि एक लाखभन्दा बढी व्यक्ति भारतमा वा भारतको बाटो हुँदै अन्य मुलुकमा बेचबिखनमा पर्ने गरेका छन् । यस्ता समस्या नियन्त्रणका लागि भारतीय पक्षको पहल आवश्यक रहेको नेपाली ठान्छन् । 

छिमेकी भएर पनि बेलाबखत नेपाली भूगोल तथा जनसङ्ख्याको ठुलो राष्ट्र भारतबाट हेपिनु, अपहेलित हुनु परेको महसुस गरिएका धेरै विषय र सम्बन्ध बारम्बार चर्चामा आइरहन्छन् । विगतका उच्चस्तरीय भ्रमण र संवादले सार्थक निष्कर्ष दिएको समेत छ । नाकाबन्दीलगायत जटिल समस्या सुल्झिए । हाम्रो दुईपक्षीय सम्बन्ध, विकास साझेदारीका अप्ठ्यारा आदि हटाउनुपर्ने महसुस दुवैतर्फको उच्चस्तरीय तहबाट नगरिएको पनि होइन । १९५० को सन्धिप्रति नेपालको असन्तुष्टिपछि त्यो सन्धि संशोधन गरी समयानुकूल बनाउन भारत सहमत भएको हो । नेपाल–भारत प्रबुद्ध व्यक्तिको समूह इपीजी गठन भयो । त्यो समूहले पाँच वर्षअघि तयार पारेको प्रतिवेदन अझै दुवै देशका प्रधानमन्त्रीले नबुझेको अवस्था छ । सो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले यथाशीघ्र बुझेर त्यसको कार्यान्वयनमा पाइला चालिनु अपेक्षित छ । हवाई ट्रान्जिट र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सवालमा देखिएका केही असमझदारीलाई यो भ्रमणले हटाउने अपेक्षा छ । 

यो भ्रमणमा नेपाली उद्योगी व्यवसायीको ठुलो समूह पनि प्रधानमन्त्रीसँगै छ । भारत नेपालको ठुलो व्यापार साझेदार हो तर नेपालको व्यापार घाटा फराकिलो छ । बेलाबखतमा नेपालबाट हुने वस्तुको निर्यात खुम्च्याउने खालका निर्णय भारतबाट हुँदा नेपाली व्यापारी मर्कामा पर्ने गरेका छन् । जलविद्युत्को क्षेत्रमा भारतीय लगानीकर्तालाई ठुलो अवसर दिलाएको नेपालमा भारतीय सहयोगमा सुरु भएका योजनामा भारतीय ठेकेदार नै छन् तर योजनाको काममा ढिलाइ देखिने गरेको छ । यस्ता विषयको पनि यथोचित भारतीय पक्षबाट सम्बोधन हुने अपेक्षा छ । 

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भ्रमण हो । उहाँ प्रधानमन्त्री हैसियतमा विसं २०६५ मा पहिलो तथा २०७३ मा दोस्रो औपचारिक भ्रमणको एक महिना नबित्दै सोही वर्ष ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत जानुभएको थियो । यो चौथो भ्रमणमा प्रकट सदाशयताको सदुपयोग प्रधानमन्त्रीबाट हुने नै छ । उहाँले नेपाली जनता र मुलुुकको हितबाहेक केही नगर्ने बताउनुभएको सन्दर्भमा विगतमा भएका समझदारी सम्झौताको समीक्षा हुने छ । दुवै देशबिचको सम्बन्धलाई नयाँ परिवेशमा अझ उचाइमा पु¥याउन सफलताको हार्दिक शुभकामना ।