• १६ भदौ २०८१, आइतबार

गणतन्त्रमाथिको आक्रमणलाई निस्तेज पार्नुपर्छ : प्रदेश प्रमुख

blog

बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा ।

राममणि दाहाल

हेटौँडा, जेठ १५ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि विभिन्न जोड र कोणबाट भइरहेको आक्रमणलाई निस्तेज पार्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले अझै पनि हामीले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र शैशव कालबाटै गुज्रिरहेको भन्दै अझै पनि अस्थिरता र सङ्क्रमणका बादलहरू छाँटिएका छैनन् भन्नुभयो । 

बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले शहीदहरूको बलिदानको जगमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्नु सबैको दायित्व भएको बताउनुभयो । 

"गणतन्त्रमाथि विभिन्न जोड र कोणबाट आक्रमण हुने क्रम सुरु भएको यदाकदा सुन्न थालिएको छ", उहाँले भन्नुभयो, "हामीले हाम्रा किसानहरूबाट के कुरा सिक्न नितान्त आवश्यक छ भने बालीको संरक्षण र पोषणका लागि सबै प्रकारका झारहरू निर्ममतापूर्वक उखेल्नुपर्दछ ।" 

संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार अझ बढी दृढ सङ्कल्पित हुनु आवश्यक भएको बताउनुहुँदै उहाँले आजको युगमा लोकतान्त्रिक प्रणाली सर्वोत्तम विधि भएको बताउनुभयो । आलोचकहरूका रचनात्मक आलोचनाको सम्मान र सम्बोधन हुनुपर्दछ र साथै, झुसिला डकारहरूको उपचार पनि हुनुपर्छ भन्दै उहाँले अगाडि भन्नुभयो, "शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको लगानी अभिवृद्धि गर्दै नागरिक हक–हित रक्षाका लागि सबै एकजुट हुनुपर्छ ।"

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्रलाई संस्थागत गर्दै नागरिकको पक्षमा काम गर्नु अहिलेको जिम्मेवारी भएको बताउनुभयो । कार्यक्रममा पत्रकारलगायतलाई सम्मान गरिएको थियो ।