• १६ वैशाख २०८१, आइतबार

टी–२० अन्तर्राष्ट्रिय : नेपाल मलेसियासँग पराजित

blog

मलेसियाविरुद्ध बलिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, जेठ १५ गते । मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । मलेसियास्थित वाइएसडी यूकेएम ओभलमा सोमबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भयो ।


जितसँगै मलेसियाले सिरिजमा १–० को अग्रता लिएको छ । नेपालले दिएको ५१ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रन बनाउनुभयो । हमिजाहले अविजित १२ र इना नजवाले अविजित आठ रन बनाउनुभयो । 

बलिङमा नेपालका कप्तान रुविना क्षेत्री र सीता रानामगरले दुई दुई विकेट लिनुभयो । कविता कुँवरले एक विकेट झार्नुभएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ५० रन मात्र बनाएको थियो । 

नेपालको लागि सम्झना खड्काले सर्वाधिक १३ रन बनाउनुभयो । ज्योती पान्डेले ११ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अङकमा रन जोड्न सकेनन् । 


बलिङमा मलेसियाका नीर नुर अतिलाले तीन विकेट लिनुभयो । ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले दुई दुई विकेट झार्नुभयो । मलेसियाविरुद्धको पहिलो खेलमा नेपालका सम्झना खड्का र कृतिका मरासिनीले डेब्यु गर्नुभएको छ ।

नेपाली महिला टोलीले मलेसियासँग टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक हार खेपेको हो । यसअघि खेलिएको तीन खेलमा नेपाल अपराजित रहेको थियो । नेपालले अब मलेसियासँग दोस्रो खेल जेठ १६, तेस्रो खेल १८, चौथो खेल २० र पाँचौं खेल जेठ २१ गते खेल्नेछ । 

नेपाली टोली 

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।