अङ्कारा, जेठ १५ गते । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनु भएको छ । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उहाँले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याउनु भएको छ ।
एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गर्नुभएको हो । टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै उहाँले राष्ट्र र जनतालाई धन्यवाद दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गर्यौं । म यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’’
‘‘५मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा आाठ करोड ५० लाख नागरिक हुन्,’’ उहाँले दुई चरणको निर्वाचनलाई उल्लेख गर्दै भन्नुभयो ।
उता निर्वाचितमा पाराजित प्रतिद्वन्दी किलिचदारोग्लुले राजधानी अङ्कारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा “वास्तविक प्रजातन्त्र” नआएसम्म लडाइँ जारी राख्ने बताउँनु भएको छ ।
‘‘यो हाम्रो इतिहासको सबैभन्दा अनुचित निर्वाचन अवधि थियो। हामी डरको वातावरणमा झुकेका छैनौं । यो निर्वाचनमा सबै दबाबका बाबजुद जनताको अधिनायकवादी सरकार परिवर्तन गर्ने इच्छा स्पष्ट भयो,’’ उहाँले भन्नुभयो ।
एर्दोगानले २७, ५१३, ५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गर्नु भएको छ भने विपक्षी नेता केमाल किलिचदारोग्लुले २५, २६०, १०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गर्नु भएको छ । रासस/एएनआई